गृहपृष्ठ एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा
काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ । शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ ।
नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसिसी प्रिमियर कप च्याम्पियन टोली थियो । सन् २०२४ मा आयोजना भएको प्रिमियर कप टी-२० फम्र्याटमा खेलाइएको थियो । ओमानमा भएको उक्त प्रतियोगितामा नेपालको प्रदर्शन भने साधारण रह्यो । सेमिफाइनलसम्म पुगेको नेपालले चौथो स्थान हासिल गरेको थियो । यसपालि भने सानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ ।
तीन वर्षअघिको इतिहास दोहोर्‍याउने मौका
पहिलो संस्करणको उपाधि जित्नेक्रममा नेपालले फाइनलमा युएईलाई सात विकेटले हराएको थियो । नेपाली टोली फेरि तीन वर्षअघिको इतिहास दोहोर्‍याउँदै दोस्रो पटक एकदिवसीय प्रारूपको एसिसी प्रिमियर कपको उपाधि जित्ने योजनामा छ ।
नेपालले दोस्रो पटकको प्रिमियर कपमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन । टी-२० फम्र्याटको उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा खुम्चिएको थियो । सन् २०२४ मा आयोजित त्यस संस्करणको प्रिमियर कपमा ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । ऊ यसपालि पनि उपाधि रक्षा गर्ने योजनामा छ ।
युएईले जारी संस्करणमा सानदार प्रदर्शन गर्दै नेपालसँगको उपाधि भेट पक्का गरिसकेको छ । उसले समूह चरणको चार वटै खेलमा एकतर्फी जित निकालेको थियो । सेमिफाइनलमा युएईले हङकङलाई सात विकेटले हराएको थियो । युएई अब फाइनलमा पनि आफ्नो आफ्नो लय जारी राख्ने सोचमा छ । यद्यपि विश्वस्तरीय बलिङ रहेको नेपालविरुद्ध जित निकाल्न युएईलाई सहज हुने छैन ।
समूह चरणमा हङकङबाहेक नेपालले तीनवटा खेलमा सानदार जित दर्ता गरेको थियो । सेमिफाइनलमा ओमानविरुद्ध नेपालको बलिङ प्रदर्शन थप उच्कृष्ट रह्यो । १४७ रन बनाउँदा पनि नेपालले ओमानसँगको सेमिफाइनल खेलमा ८७ रनको फराकिलो जित निकाल्यो । उक्त खेलमा नेपालले ओमानी टिमलाई ६० रनमै अलआउट गर्‍यो ।
नेपाल अब युएईविरुद्ध पनि जित निकालेर दोस्रो पटक एसिया कपमा स्थान बनाउन चाहन्छ । एसिसी प्रिमियर कप २०२६ मा तुलनात्मक रूपमा युएई नेपालको सर्वाधिक कठिन प्रतिद्वन्द्वी हो । विगतमा भएका महत्वपूर्ण प्रतियोगितामा नेपालका लागि युएई बाधक बनेको थियो । सोही कारण यसपटक नेपालले उत्कृष्ट योजनाका साथ फाइनल खेल्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वक्रिकेटर दीपेन्द्र चौधरीको धारणा छ ।
उनले फाइनल खेलमा मलेसियाको पिचको अवस्थाले पनि धेरै फरक पार्ने बताए। “फाइनल हुने मैदानमा धेरै पिच छन् । कुन पिचमा खेल हुन्छ, त्यसले पनि धेरै कुराको निर्भर गर्नेछ । सेमिफाइनल खेलिएकै पिचमा फाइनल पनि खेलाइएमा नेपाललाई धेरै फाइदा मिल्नेछ”, नेपाल क्रिकेट सङ्घ (क्यान) को खेलाडी छनोट समितिका पूर्वसंयोजर्कसमेत रहेका चौधरीले भने ।
‘स्पिन पिच’मा फाइनल खेल भएमा नेपालको जित प्रतिशत ७० रहेको उनको विश्लेषण छ । नेपालभन्दा बढी दबाब युएईलाई रहेको उल्लेख गर्दै उपाधि जित्ने हो भने नेपालका शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न आवश्यक रहेको चौधरीले बतारे ।
“पछिल्लो केही वर्षयताको नतिजा हेर्ने हो भने युएईविरुद्ध नेपाल हाबी भइरहेको छ । त्यसकारण हामीभन्दा उनीहरू दबाबमा छन् । त्यसो भन्दैमा हामी नै जित्छौँ भन्ने होइन, नेपालको तर्फबाट शीर्ष क्रमका ब्याटरहरूबाट ठूलो पारी देख्न पाइएको छैन । फाइनलमा ओपनिङ जोडी चल्न सके नेपालले उपाधि जित्ने सम्भावना धेरै छ”, उनले भने ।
युएईको टोलीमा अधिकांश नयाँ खेलाडी छन् । उनीहरूभन्दा अन्तरराष्ट्रिय क्रिकेटमा नेपाली खेलाडी अनभवी छन् । नेपालले फाइनलमा त्यसको फाइदा उठाउनसक्नुपर्ने पूर्वक्रिकेटर चौधरीको भनाइ छ ।
“युएईको टोलीमा धेरैजसो भारतीयमूलका खेलाडी छन् । उनीहरूसँग एसोसियट र अन्तरराष्ट्रिय क्रिकेट खेलेको त्यति अनुभव छैन । त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ । हाम्रो बलिङ र फिल्डिङ उत्कृष्ट छ । ब्याटिङमा थप राम्रो गर्न सके उपाधि जित्न सक्छौँ”, उनले भने ।
नेपाल र युएईबीचको विगत
एकदिवसीय अन्तरराष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १९ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ११ र युएईले ८ खेलमा जित निकालेको इतिहास छ । युएईसँग खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ । नेपालले युएईविरुद्ध अन्तिमपटक गत मे महिनामा खेलेको थियो ।
उक्त आइसिसी  विश्वकप लिग-२ शृङ्खलाको खेलमा नेपाल छ रनले विजयी भयो । सोही शृङ्खलाको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले हराएको थियो । नेपाल सोही प्रदर्शन शनिबार हुने फाइनलमा पनि कायमै राख्ने योजनामा छ ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु