गृहपृष्ठ विद्युत् नियमन आयोगद्वारा पहिलोपटक वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक
विद्युत् नियमन आयोगद्वारा पहिलोपटक वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक
विद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेपालको संविधान, सरकारको नीति र ऊर्जा विकास मार्गचित्र, २०८१ को मार्गदर्शन अनुसार तयार पारिएको उक्त योजना तथा कार्यक्रममा विद्युत् क्षेत्रको सुधार गर्ने, विद्युत सेवालाई सर्वसुलभ, भरपर्दो र सुरक्षित बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा यस सम्बन्धमा नियामकीय उपकरण तर्जुमा गर्नेलगायतका उद्देश्यलाई प्राथमिकतामा राखिएको छ ।
आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले २७९ औँ बैठकबाट आयोगको प्रथम वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिएको बताए । “सर्वसुलभ, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा हरेक विद्युत् उपभोक्ताको अधिकार” भन्ने मूल नारा अनुरूप आयोगको वार्षिक योजना तथा कार्यक्रम तयार पारिएको उनले बताए । आर्थिक वर्ष २०८२/८३ मा आयोगले नियामकीय संरचना विस्तार तथा सवलीकरण र संस्थागत सुदृढीकरणलाई मुख्य लक्ष्यका रूपमा लिएको छ ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ मा आयोगले जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौतामा समयानुकूल संसोधन सम्बन्धी उपयुक्त रणनीति तय गर्ने तथा जलविद्युत् आयोजनाको उत्पादन लागत निर्धारण सम्बन्धमा अध्ययन तथा अनुसन्धान गर्ने योजना बनाएको छ । साथै, विद्युत् आयोजनाहरूको प्राविधिक तथा वित्तीय प्रगति यकिन र मुल्यांकन गर्न स्वतन्त्र तेस्रो पक्ष वा परामर्शदातामार्फत मुल्यांकन गर्ने सम्बन्धी व्यवस्था मिलाउने योजनामा उल्लेख गरिएको छ ।
यस प्रकारका मुल्यांकनले आयोजना निर्माणको वास्तविक प्रगति यकिन गर्न सहज हुनुका साथै लगानीकर्ताहरूलाई स्पष्ट जानकारी उपलब्ध गराई लगानी निर्णयमा सहुलियत पुग्ने अपेक्षा आयोगले लिएको छ । आयोगले आफ्नो योजना तथा कार्यक्रममार्फत उपभोक्तामैत्री सेवा प्रवाहका लागि गुनासो सुनुवाइ संयन्त्रको विकास, विद्युत् उपभोक्ता मञ्चको गठन, तथा प्रादेशिकस्तरमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत संचालन गर्ने उल्लेख गरेको छ ।
प्रकाशित समय : २०:१७ बजे


















