global ime bank Long Banner Ad

गृहपृष्ठ हरित सडक बनाउँदै महाशिला

हरित सडक बनाउँदै महाशिला

हरित सडक बनाउँदै महाशिला

पर्वतको महाशिला गाउँपालिकाभित्र रहेका सबै सडकलाई हरित सडकका रूपमा विकास गरिने भएको छ ।

विकास, वातावरण र पर्यावरणलाई संरक्षण गर्दै हराभर सडक बनाउने उद्देश्यले हरित सडक बनाउन लागिएको हो । पालिकाभित्र रहेको १८३ किलोमिटर सडकका दायाँ र बाँया फलफूल, डालेघाँस र फूलका बिरुवा रोप्न लागिएको महाशिला गाउँपाालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार पालिकाभित्रका अधिकांश सडक कच्ची रहेका छन् । जसमध्ये २२ किलोमिटर कालोपत्र तथा ढलान र २३ किलोमिटर सडक सोलिङ गरिएको छ । सडकलाई बाहै्रमास सञ्चालन गर्नका लागि वर्षायाममा बाढी नियन्त्रण गर्न ४० जना स्वयंसेवक समेत परिचालन गरिएको छ ।

गत असार १० गते सम्पन्न गाउँसभाले हरित सडकका लागि रु १० लाख बजेट समेत विनियोजन गरेको छ । अपुग बजेट आगामी गाउँसभाबाट संशोधन गरेर विनियोजन गरिने अध्यक्ष भुसालले बताए । गाउँपालिकाले ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तर्गत छनोट गरेका ४०० जना स्वयंसेवक परिचालन गरी सडकका दायाँबायाँ रुखबिरुवा रोपिने उनले बताए ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालयसँग पनि डालेघाँस र फलफूलका बिरुवा माग गरिएको र अपुग बिरुवा पालिका आफैँले व्यवस्थापन गरेर रोपिने भएको छ । हरित सडक बनेपछि भूक्षय तथा बाढिपहिरोजस्ता प्रकोप न्यूनीकरण हुने र सडकको सुरक्षा समेत हुने भिरालो र पहाडी क्षेत्र बढी भएको महाशिलामा वर्षायाममा अधिकांंश सडकमा बाढीपहिरोको समस्या आउने गरेको छ । दायाँबायाँ रुखहरू रोपेपछि बाढीपहिरोको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको अध्यक्ष भुसालको भनाइ छ । “बिरुवा उपलव्ध भएपछि दशरपन्ध्र दिनमै रोपेर सक्छौँ,” अध्यक्ष भुसालले भने, “बहुउपयोगी बिरुवा रोप्ने योजना रहेको छ ।”

महाशिलामा अब नयाँ मार्ग खोल्नुपर्ने अवस्था नरहेकाले पुराना सडकलाई व्यवस्थित गर्न थालिएको हो । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित बजेटले सडक कालोपत्र, स्तरोन्नति, नाली निर्माणलगायतका काम भइरहेको उनको भनाइ छ । जिल्लाको सबैभन्दा सानो पालिकाका रूपमा रहेको महाशिलाले आगामी आर्थिक वर्षको बजेटमा समेत कृषि र पूर्वाधारलाई जोड दिएको छ ।

पालिकाले यसअघि बाँझो रहेको जग्गा सदुपयोग गर्नका लागि फलफूलखेती विस्तार गर्दै आएको छ । ओखर, मेकाडेमियानट, तरुल, अम्बा, केरालगायत बाँदरले नष्ट गर्न नसक्ने खालका फलफूलखेती विस्तार गरिएको गाउँपालिकाका उपाध्यक्ष धनशोभा विकले जानकारी दिए ।

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु