गृहपृष्ठ बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो बाढीले खण्डहर बनाएको बेत्रावती क्षेत्र नुवाकोट, १७ भदौः गत १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले खण्डहर बनाएको नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावती क्षेत्र । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौँ । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढाइएको जनाएका छन् ।

यसका लागि प्रभावित स्थानीय तहसँगको समन्वयमा काम भइरहेको मन्त्रालयको भनाइ छ । पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिमा विभिन्न विभागका चार महानिर्देशक र सबै प्रभावित क्षेत्रका पालिका प्रमुख छन् । उनिहरूले आफ्नो क्षेत्रको आवश्यकताको विवरण समितिलाई उपलब्ध गराई रहेको छन् ।

यसअघि सरकारले बाढी प्रभावित नागरिक आफैँले कोठा खोजी बस्न चाहेमा चार जनासम्मको परिवारलाई मासिक १५ हजार र चारभन्दा बढी सदस्य भए थप प्रतिव्यक्ति रु दुई हजारका दरले उपलब्ध गराउने निर्णय गरिसकेको छ तर प्रभावित नागरिकको अन्यत्र सुरक्षित जग्गा भएमा त्यहाँ उहाँहरूका लागि ‘मोड्युलर’ (अलग(अलग भाग जोडेर तयार पारिएको० घरहरूको व्यवस्था गर्ने सरकारले तयारी गरिरहेको छ ।

अन्यत्र कतै सुरक्षित जग्गा पनि नभएकाहरूका लागि सरकारले आफैँ जग्गाको व्यवस्थापन गर्नाका साथै त्यहाँ ‘मोड्युलर’ घरको व्यवस्था गर्ने तयारी गरिरहेको छ । यसको विवरण सङ्कलन कार्य जारी रहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

साथै, भूमि मन्त्रालयले जग्गाको पहिचानलाई तीव्रता दिएको छ भने पूर्वाधार विकास मन्त्रालयले घरहरुको व्यवस्थासम्बन्धी गृहकार्य तीव्र पारेको छ ।

सरकारको प्रारम्भिक सर्वेक्षणअनुसार बाढी प्रभावित क्षेत्रमा ६० प्रतिशत परिवारले कोठा भाडामा बस्ने विकल्प रोजेका छन् । आफ्नै जग्गामा घरको व्यवस्था होस् भन्ने चाहने २० प्रतिशत र सुरक्षित जग्गा पनि नभएको भन्ने परिवारको सङ्ख्या २० प्रतिशत छ ।

यसैगरी, सरकारले बाढी प्रभावितहरूको स्थायी बसोबासका लागि पनि काम सुरु गरेको छ । उनिहरूलाई सुरक्षित ठाउँमा सबै सुविधासहितको सहर निर्माण गरी पुनःस्थापना गर्ने सरकारको प्रारम्भिक अवधारणा छ ।

प्रकाशित समय : २१:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु