गृहपृष्ठ पचास लाखभन्दा बढी विस्थापित सुडानी स्वदेश फिर्ता : राष्ट्रसङ्घ

पचास लाखभन्दा बढी विस्थापित सुडानी स्वदेश फिर्ता : राष्ट्रसङ्घ

पचास लाखभन्दा बढी विस्थापित सुडानी स्वदेश फिर्ता : राष्ट्रसङ्घ

सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीहरूका बाबजुद पनि ५० लाखभन्दा बढी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन रोजेको संयुक्त राष्ट्रसङ्घले सोमबार बताएको छ ।

“धेरैजना अझै द्वन्द्वग्रस्त देशमा फर्किरहेका छन्, जहाँ क्षतिग्रस्त घर, विद्यालय र क्लिनिकहरूले आवश्यकता पूरा गर्न सक्दैनन्,” संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० ले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “तत्काल सहयोगबिना परिवारहरू फेरि विस्थापित हुने जोखिममा छन्।”

सन् २०२३ अप्रिलमा सुडानको नियमित सेना र अर्धसैन्य द्रुत सहायता बल ९आरएसएफ० बीच सुरु भएको युद्धले सहायताकर्मीको अनुमानअनुसार दुई लाखभन्दा बढी मानिसको ज्यान लिएको छ र विश्वको सबैभन्दा ठूलो भोकमरी तथा विस्थापन सङ्कट सिर्जना गरेको छ ।

आईओएमले पहिले भनेको थियो, “युद्धको चरम अवस्थामा देशभित्र करिब एक करोड २० लाख मानिस विस्थापित भएका थिए भने संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीका अनुसार करिब ५० लाख मानिस छिमेकी देशहरूमा भागेका थिए।

गत वर्ष सरकारी सेनाले खार्तूम फिर्ता लिएपछि युद्ध राजधानीबाट अन्यत्र सरेसँगै लडाइँले विस्थापित भएका धेरैजना राजधानी र सुरक्षा सुधार भएको विश्वास गर्ने अन्य क्षेत्रमा घर फर्कन थालेका छन्।

आईओएमले सोमबार नयाँ तथ्याङ्कअनुसार ५१ लाख ५० हजार मानिस सुडानका नौ राज्यका ७६ वटा इलाकामा फर्किएको बताएको छ । यो सङ्ख्या एक महिनाअघिको तुलनामा चार प्रतिशत बढी हो।

“सुडानमा अझै अन्य ८५ लाख ८० हजार मानिस अन्तरिकरूपमा विस्थापित अवस्थामा छन्,” आईओएमले भनेको छ । यो गत महिनाको तुलनामा एक प्रतिशत कम हो र सङ्कटको चरम अवस्थाको तुलनामा करिब एक चौथाइ कम हो ।

कमी भए पनि ‘सुडान अझै विश्वका सबैभन्दा ठूला विस्थापित जनसङ्ख्या भएका मुलुकमध्ये एक हो,” संस्थाले भनेको छ।

“जारी असुरक्षाले डार्फुर, कोर्डोफान र ब्लू नाइलका केही भागहरूमा थप मानिसहरूलाई घर छाड्न बाध्य पारिरहेको छ,” राष्ट्रसङ्घीय शरणार्थीमामिला हेर्ने निकायले भनेको छ ।

यसका बाबजुद आईओएमले फर्कनेहरूको सङ्ख्या ५० लाख नाघेको तथ्यलाई स्वागत गर्दै यसलाई ‘दीर्घकालीन मानवीय सङ्कटमा प्रगति को दुर्लभ सङ्केत’ भनेको छ।

“घर पुग्नु केवल सुरुवात हो”, आईओएम प्रमुख एमी पोपले भन्नुभयो, “यदि हामीले अहिले मद्दत गरेनौँ भने, धेरैलाई फेरि सर्न बाध्य पारिनेछ। मानिसहरूले आफ्नो जीवन पुनर्निर्माण गर्न र बस्न सकून् भनेर आज यी समुदायहरूमा लगानी गर्न आवश्यक छ।”

“फर्कनेहरूमध्ये ८२ प्रतिशत सुडानभित्रै विस्थापित भएका थिए भने करिब नौ लाख ३० हजार मुख्यतः इजिप्ट, दक्षिण सुडान र लिबियाजस्ता विदेशी मुलुकबाट फर्किएका थिए,” आईओएमले भनेको छ ।

“फर्कनेहरू सबैमध्ये आधा १८ वर्षमुनिका बालबालिका छन्,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय : २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु