गृहपृष्ठ जीवन बीमाको बागमती प्रदेशमा ६९ अर्ब बढीको व्यापार
जीवन बीमाको बागमती प्रदेशमा ६९ अर्ब बढीको व्यापार
बागमती प्रदेशमा जीवन बीमा व्यवसायको बजार ठूलै देखिएको छ । व्यवसायको रुपमा हेर्ने हो भने बागमती प्रदेशले अन्य प्रदेशको तुलनामा जीवन बीमाले ठुलो बजार ओगटेको देखिन्छ।
नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको जेठसम्म १ खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमकहरुले बागमती प्रदेशबाट मात्रै ६८ अर्ब ७९ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यवसायको ४४।३४ प्रतिशत हिस्सा हो।
यसैगरी दोस्रो धेरै व्यापार कम्पनीहरुले लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले २४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १५।६९ प्रतिशत हिस्सा रहेको छ।
तेस्रो धेरै व्यापार कोशी प्रदेशमा रहेको देखिन्छ। कम्पनीहरुले कोशीबाट १८ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १२।११ प्रतिशत हिस्सा हो।
यसैगरी जेठसम्म कम्पनीहरुले गण्डकी प्रदेशबाट १५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ, मधेश प्रदेशबाट १३ अर्ब ८३ करोड ७९ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ९ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ४ अर्ब ३५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।कुल व्यापारमा गण्डकीको हिस्सा १०.०७ प्रतिशत, मधेश प्रदेशको ८.९२ प्रतिशत, सुदूरपश्चिमको ६.०७ प्रतिशत र कर्णालीको २.८० प्रतिशत हिस्सा रहेको छ।
प्रकाशित समय : १६:४१ बजे



















