यातायात व्यवसायीको माईतीघरमा प्रदर्शन, अनिश्चितकालिन सेवा बन्द गर्ने चेतावनी
वि.सं.२०८२ जेठ १८ आइतवार १५:१९
shares

काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरुले विभिन्न ७ बुँदे मागसहित चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाईमा आज माईतीघर मण्डलामा सवारी साधनमा कालो झण्डा राखी विरोध गरिएको छ । व्यसायीहरुले गाडीमा कालो झण्डा र निधारमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । उनीहरुले बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज, राईड सेयरिङ एप्स बन्द गर्नुपर्ने लगाएतका माग राखेका छन् ।
यसअघि आन्दोलनको पहिलो चरण अन्र्तगत व्यवसायीहरुले बीच सडकमै सार्वजनिक सवारी साधन तेर्साएर विरोध जनाएका थिए । व्यवसायीहरुले जेठ १९ गतेसम्म माग पुरा नभए देशभर सार्वजनिक सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन् ।
दुई पांग्रे र चार पांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफुहरुको लगानी संकटमा परेको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन् । प्रदर्शनका कारण काठमाडौँ उपत्यकाको सावारी आवागमन प्रभावित भएको छ ।






















