गृहपृष्ठ निष्क्रिय कर्जा वृद्धि हुँदा राष्ट्रिय स्तरका विकास बैंकहरु दबाबमा
निष्क्रिय कर्जा वृद्धि हुँदा राष्ट्रिय स्तरका विकास बैंकहरु दबाबमा
निष्क्रिय कर्जामा वृद्धि हुँदा वाणिज्य बैंक मात्रै नभएर विकास बैंक पनि दबाबमा देखिएका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात गत साउनदेखि चैत्र मसान्तसम्म पनि राष्ट्रिय स्तरका विकास बैंकहरु निष्क्रिय कर्जा नियन्त्रणमा चुकेका छन् ।
तेस्रो त्रैमासमा यी बैंकहरूको औसत निष्क्रिय कर्जा ५.०४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरूको औसत निष्क्रिय कर्जा ३.५८ प्रतिशत थियो ।लुम्बिनी विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ७.१८ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस बैंकको निष्क्रिय कर्जा ३.६९ प्रतिशत थियो । त्यसैगरी,महालक्ष्मी विकास बैंकको निष्क्रिय कर्जा ४.१६ प्रतिशतबाट बढेर ४.९९ प्रतिशत, ज्योति विकास बैंकको ४.९७ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ ।
त्यस्तै, गरिमा विकास बैंकको गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको सोही अवधिमा बढेर ४.७८ प्रतिशत पुगेको छ । साइन रेसुंगा बैंकको निष्क्रिय कर्जा गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा बढेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.४१ प्रतिशत रहेको यस बैंकको निष्क्रिय कर्जा चालू आर्थिक वर्षको सोही अवधिमा ४.७६ प्रतिशत पुगेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको निष्क्रिय कर्जा २.०२ प्रतिशतबाट बढेर चालू आर्थिक वर्षमा ४.४१ प्रतिशत पुग्दा कामना सेवा विकास बैंकको ३.५५ प्रतिशतबाट बढेर ४.२७ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा नियन्त्रणमा विकास बैंकहरु चुकेपनि नाफामा भने सुधार गरेका छन् ।
चालू आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विकास बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका थिए ।
प्रकाशित समय : १५:१५ बजे



















