नार्कको पुनर्संरचनाका लागि पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति गठन
वि.सं.२०८२ जेठ ५ सोमवार १५:३८
shares

सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्संरचनाका लागि प्रा.डा. गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नंसरचना सुझाव समिति गठन गरेको छ । समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. ईश्वरी कडरिया र डा.यज्ञ गजाधर खड्का सदस्य छन् ।
उच्च स्तरीय समितिका पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्ष रुपमा सुधार गर्न उच्च स्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने अपेक्षा व्यक्त गरे । समितिलाई ९० दिनको कार्य अवधि दिएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याले परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्र्दभमा उच्च स्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।
विगतमा भएका अध्ययनले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए। सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको थियो । उच्च स्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यसअन्र्तगतका ऐन, नियम, नीतिलगायत कानुनी दस्तावेज तथा प्रतिवेदनको समीक्षा गर्ने, अन्य देशमा यससम्बन्धी भए गरेका असल अभ्यासको अध्ययन गर्ने, संघीयताको भावना र मर्मअनुरुप समयसापेक्ष रुपमा नार्कलाई रुपान्तरण गर्न, वैज्ञानिकहरूको दीर्घकालीन संलग्ता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्नेलगायतका कार्य क्षेत्र तोकिएको छ ।
























