गृहपृष्ठ सञ्चय कोषले धितोपत्रमा लगानी बढाएपछि घट्यो बैंक मौज्दात
सञ्चय कोषले धितोपत्रमा लगानी बढाएपछि घट्यो बैंक मौज्दात
कर्मचारी सञ्चय कोषले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा धितोपत्र बजारमा ३० अर्ब ४८ करोड ८८ लाख रुपैयाँ थप लगानी गरेको छ ।
कोषले धितोपत्रमा ९९.२० प्रतिशतले लगानी बढाएको हो ।कोषले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार ०८१ चैत मसान्तसम्मा धितोपत्रको लगानी ६१ अर्ब २२ करोड ५७ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा कोषले ३० अर्ब ७३ करोड ६९ लाख रुपैयाँ धितोपत्रहरुमा लगानी गरेको थियो ।
त्यस्तै, चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कोषको बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ५७ अर्ब ३४ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । गत असारसम्म १ खर्ब ६७ अर्ब ९० करोड रुपैयाँ मौज्दात रहेको थियो । ९ महिनाको अवधिमा कोषको बैंक मौज्दात १० अर्ब ५६ करोड ३१ लाख रुपैयाँले घटेको छ ।
धितोपत्र बजारमा आक्रमक रुपमा लगानी बढाएपछि बैंक मौज्दात घटेको हो । यसैगरी, कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा शेयर लगानी गरेको छ । कोषका अनुसार गत चैत मसान्तसम्म २ अर्ब ८१ अर्ब ४९ करोड २१ लाख रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको छ । गत असारसम्ममा २ खर्ब ६२ अर्ब ५० करोड ६ लाख रुपैयाँ सञ्चयकर्तालाई कर्जा तथा सापटी दिएको थियो ।
त्यस्तै कोषले परियोजना तथा संगठित संस्थाहरुलाई ८७ अर्ब ८३ करोड कर्जा तथा सापटी प्रदान गरेको छ । कोषमा सञ्चयकर्ताको सञ्चय गरेको ५ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा १४ अर्ब ३४ करोड रुपैयाँ छ । जगेडा कोष तथा बचतमा ३८ अर्ब २५ करोड छ ।
कोषको जम्मा कोष तथा जगेडामा ६ खर्ब ४ अर्ब ३० करोड ४६ लाख रुपैयाँ छ । कोष जगोडा तथा दायित्व भने ६ खर्ब १० अर्ब रहेको सञ्चय कोषले जनाएको छ । कोषका सञ्चयकर्ता करिब ६ लाख रहेका छन । कोषको कुल सम्पति ६ खर्ब १० अर्ब २९ करोड ५४ लाख पुगेको छ ।
सञ्चयकर्ताले सञ्चय कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सरल कर्जा र घर मर्मत सापटी शीर्षकमा ऋण सुविधा पाउँछन् । कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रकाशित समय : ११:४१ बजे


















