गृहपृष्ठ बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन
बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन
काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ ।
बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक–एक वटा अप्टिकल लाइन टर्मिनल (ओएलटी) तथा रसुवागढी, बेत्रावती र त्रिशूलीमा एक एक वटा गरी पाँच फाइबर क्याबिनेट (एफडीसी) तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो । बाढीका कारण ती क्षेत्रमा नेपाल टेलिकमका कुल एक हजार ५४४ वटा एफटीटीएच लाइन पूर्णरूपमा प्रभावित भएका थिए ।
विपद्लगत्तै नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरी नेटवर्क मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको थियो । हालसम्म प्रभावितमध्ये एक हजार ९३ एफटीटीएच लाइन पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रवक्ता कमल लामिछानेका अनुसार यससँगै पहिलो चरणको सेवा पुनःसञ्चालनकार्य सम्पन्न भएको छ । बाँकी प्रभावित लाइन सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइनेछ ।
प्राकृतिक विपद्को विषम परिस्थितिमा सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।
प्रकाशित समय : १७:५२ बजे


















