काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मुम्बईमाथि रोमाञ्चक जित हासिल गर्दै गुजरात शीर्ष स्थानमा

1.85K
shares

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बईमाथि रोमाञ्चक जित हासिल गर्दै गुजरात शीर्ष स्थानमा उक्लिएको छ ।

वानखेडे रंगशालामा मंगलबार वर्षाका कारण पटक–पटक प्रभावित खेलमा गुजरातले घरेलु टोली मुम्बईलाई तीन विकेटले हराएको हो ।

मुम्बईले जितका लागि २० ओभरमा १५६ रनको लक्ष्य प्रस्तुत गरेकोमा दोस्रो इनिङमा पटक-पटक पानी पर्दा खेल प्रभावित भएको थियो । वर्षाका कारण १९ ओभरमा खेल छोटिएपछि गुजरातले १९ ओभरमा १४७ रनको लक्ष्य पायो । गुजरातले सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै महत्त्वपूर्ण दुई अंक जोड्यो ।

तेस्रो पटक वर्षापछि खेल सुरू हुँदा गुजरातलाई १ ओभरमा १५ रन आवश्यक थियो । तर दीपक चाहरले पहिलो ३ बलमै चौका र छक्का खाएपछि गुजरात जिततर्फ अग्रसर भयो । अन्तिम बलमा १ रन चाहिएको अवस्थामा रनआउट गर्न नसक्दा मुम्बई पराजित भएको हो ।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रनको योगदान दिए ।

मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र अश्वनी कुमारले दुई–दुई तथा दीपक चाहरले एक विकेट लिए ।

त्यसअघि टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतारेको थियो । मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रन जोड्यो ।

अर्धशतक बनाएका विल ज्याक्सले ३५ बलबाट ५३ रन जोडे । यस्तै सूर्यकुमार यादव ३५ रनमा आउट भए ।

गुजरातका लागि साई किशोरले सर्वाधिक दुई विकेट लिए । गुजरात ११ खेलमा आठ जितसँगै १६ अंक बोकेर शीर्ष स्थानमा उक्लिएको हो । चौथो स्थानमा रहेको मुम्बईको १२ खेलमा १४ अंक छ ।