गृहपृष्ठ ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण
ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर वितरण
महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल आफैँ फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको एसएसपी ढकालले बताए ।
‘कोरोनाको उच्च जोखिम मोलेरफ्रन्टलाइनमा दैनिक खट्टिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैँ सेनिटाइजर उत्पादनगरेको हो,’ महाशाखाका प्रमुख ढकालले भने, ‘अहिले ३० लिटर उत्पादन गरेका छौं, आवश्यकताअनुसार थप उत्पादन गर्छौ र वितरण गर्छौं ।’
महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको छ । यस्तो विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारद्वारा कोरोना रोकथामका लागि गरिएको लकडाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ ।
प्रकाशित समय : २३:५८ बजे



















