गृहपृष्ठ सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो

सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो

सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो

गोकर्णेश्वर नगरपालिका–४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुरु गरेको सदस्य केन्द्रित हाटबजारमा उपभोक्ताको घुइँचो बढ्न थालेको छ । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको आरोप लागिरहेका बेला चिनारीले भने प्रत्येक महिनाको अन्तिम शनिबार गोकर्णेश्वर–४ स्थित किसिगालमा हाटबजार गर्न थालेको हो ।

सहकारीले हाटबजार सुरु गरेको पाँच महिनामा किनमेल गर्नेको भीड बढ्न थालेको छ । सहकारीका सदस्यले करेसाबारीमा उत्पादित कृषि उपज बजारमा राखी बिक्री गर्दै आएका छन् । बिहान छ बजेदेखि १० बजेसम्म लाग्ने बजारमा सस्तोमा गुणस्तरीय सामान पाइने भएकाले उपभोक्ताको भीड बढ्न थालेको सहकारीका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठले राससलाई जानकारी दिए । उपभोक्ताले हप्तामा एकपटक हाटबजार सञ्चालन गर्न माग गरिरहेका उनले बताए ।

सहकारीले उत्पादक सदस्य र उपभोक्ताबीच समन्वय गरी बजार सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । हाटबजारमा सस्तोमा गुणस्तरीय उत्पादन पाइन्छ भन्ने सन्देश प्रवाह भएकाले उपभोक्ताको भीड लाग्न थालेको उनको भनाइ छ । बजार सञ्चालन गर्न थालेपछि सहकारीका ऋणीसँग पैसा उठाउन पनि सजिलो भएको छ ।

उपभोक्ताले हप्ता दिनमा एकपटक बजार सञ्चालन गर्न माग गरेकाले पाक्षिक रुपमा सञ्चालनको तयारी भइरहेको सहकारी कृषि समितिका संयोजक सूर्यमाया श्रेष्ठले जानकारी दिए । हाल हाटबजार स्थलमा १५ वटा कक्ष राख्न सकिने भएकाले थप कक्ष राख्ने व्यवस्था गर्न लागिएको उनले बताए ।

प्रकाशित समय : १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु