global ime bank Long Banner Ad

गृहपृष्ठ लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो

लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो

लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो

पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०७८/७९ मा छजनाको लेक लागेर मृत्यु भएकामा आव २०७९/८० मा १२ जनाको लेक लागेर मृत्यु भएको थियो । कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आवमा १४ जनाले लेक लागेर मुस्ताङमा ज्यान गुमाए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् ।

चौधमध्ये दश भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । “मुस्ताङमा लेक लागेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिन्छ”, उनले भने, “पछिल्लो समय मुक्तिनाथमा लेक लागेका पर्यटकको प्रारम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा आएको छ ।”

पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताए । “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”, उनले भने, “यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ ।”

काठमाडौं उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रदर्शक गुरुङले बताए । “पदयात्रा गर्नेहरु ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैपटकमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ”, उनले भने ।

मुक्तिनाथ समुद्र सतहदेखि तीन हजार सात सय १० मिटर र तिलिचो ताल चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक गुरुङको भनाइ छ । उनले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाए । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताए । नयाँ र टाढाको गन्तव्यस्थल छभने एक्लै पदयात्रा गर्न नहुने उनको भनाइ छ ।

“पदयात्रा गर्दा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ”, उनले भने, “पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने सरकारको नीति कार्यान्वयन हुन सकेमा पदयात्रामा आउने जोखिम घटाउन सकिन्छ ।” उनका अनुसार नेपालको हिमालय क्षेत्रमा झन्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् ।

पदयात्रामा जाँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्ने गुरुङले बताए । कतिपयलाई तीन हजार मिटरदेखि नै ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिने हुँदा एकै दिन धेरै नहिँडी विश्राम लिँदै पदयात्रा गर्नुपर्ने उनको भनाइ छ ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यान जाने गरेको बताए । “लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ”, उनले भने, “लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ ।” लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिने गरेको प्रमुख चिकित्सक प्रधानको भनाइ छ ।

कास्कीमा स्विडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको उनको भनाइ छ । उनका अनुसार मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता भएका स्विडिस नागरिकको मानव अवशेष सात महिनापछि गत साउनमा फेला परेको थियो ।

लेक लागेर मात्र नभई अन्य घटनाबाट पनि विदेशी पर्यटकले ज्यान गुमाउने गरेका छन् । गत असोजमा डुम्रे–बँेसीसहर–चामे सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसको मृत्यु भएको थियो । गत वर्ष नै नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एन्ड रेष्टुराँमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृतावस्थामा फेला परेको ‘एक्याप’ले जनाएको छ ।

मनाङ–खाङ्सार–तिलिचो पदमार्गअन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका–९ टोडाँडामा लेक लागेर ३५ वर्षीय भारतीय पर्यटक मोहमद रिजीमको ज्यान गएको थियो । मनाङ ङिस्याङ–६ मा लेक लागेर धादिङ गङ्गाजमुना गाउँपालिका–५ फूलखर्कका ३५ वर्षीय हरि अधिकारीको मृत्यु भएको थियो । तिलिचो आधार शिविर जाने क्रममा दाङको घोराही उपमहानगरपालिका–९ का राम डाँगीको मृत्यु भएको ‘एक्याप’को तथ्याङ्कमा उल्लेख छ ।

मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका ‘एक्याप’को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । उनले भने, “मनाङको भू–बनोट जटिल रहेकाले पथप्रदर्शकविना पदयात्रा गर्नु जोखिमपूर्ण हुन्छ, मौसमको अनुकूलता हेरेर मात्र मनाङको यात्रा तय गर्नुपर्छ ।” मनाङ भित्रने अधिकांश पदयात्री पर्यटक तिलिचो ताल हुँदै थोरङ भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ क्षेत्रमा निस्कने गरेको उनले बताए ।

झन्डै पाँच हजार मिटर उचाइमा रहेको तिलिचो ताल र पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोरङ भञ्ज्याङ पार गर्नु जो कोहीका लागि सहज नभएको उनको भनाइ छ । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले हिमाली क्षेत्रको मौसमको अनुकूलतालाई ध्यान नदिँदा पनि कतिपय पर्यटकहरु समस्यामा पर्ने गरेको बताए ।

अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । त्यसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् ।

आयोजना कार्यालयका अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए । आयोजना प्रमुख डा कडरियाले अघिल्लो आव २०७९/८० को तुलनामा झन्डै ५० हजार बढी पर्यटक गत आवमा भित्रिएको बताए । सो आवमा दक्षिण एसियाली मुलुकका ८९ हजार सात सय ७७ र अन्य मुलुकका ८२ हजार सात सय ३३ गरी कुल एक लाख ७२ हजार पाँच सय १० पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।

 

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु