nmb bank

गृहपृष्ठ गृहमन्त्रीको बेसुर लय

गृहमन्त्रीको बेसुर लय

बेलैमा सुध्र, नत्र सकिन्छौं !

गृहमन्त्रीको बेसुर लय

यदि अहिले गृहमन्त्रीलाई खोज्नु परेको भए कसरी आह्वान गरिन्थ्यो होला ? एउटा ‘डेमो’ तपाईँलाई देखाउँछु ।

‘अन्दाजी बर्ष ६० का
गहुँगोरो वर्ण भएका
सेतो दौरामा चिटिक्क परेको छिरबिरे रङको धर्के कोट लगाएका
त्यही कोटमाथि संसदको लोगोसमेत झुण्ड्याएका
फुर्र फुलेको कपाल कालो भादगाउँले टोपीले छोपेका
देख्दा चिल्लो खाईलाग्दो देखिने
अन्तिमपटक संसद भवन बाहिर देखिएका
स्थायी ठेगाना बलात्कारपछि मारिएर अहिलेसम्म न्याय नपाएकी निर्मला पन्तको जिल्ला कञ्चनपुर भएपनि काठमाडौंमै बसोबास गरिरहेका,
तर, सत्तामा पुगेपछि एकाएक हराएको हुँदा फेला पार्नु हुने महानुभावले उनकै मातहतको प्रहरी वा देउवा निवासमा सम्पर्क गरिदिए जनता आभारी हुने देखिन्छ ।’

सुन्दा यो सूचना अलि निर्मम अथवा व्यङयात्मक लाग्ला । तर खासमा गृहमन्त्री गुमनाम भएको सत्तामा पुगेपछिमात्रै हो । त्यो भन्दाअघि उनी संसदको रोस्टममा उभिएर, कुरा घुमाई–घुमाई, भाषा मिलाई–मिलाई सत्तामा भएका रवि लामिछानेजस्ता पात्रलाई दरो दनक दिइरहेको भेटिन्थे । एउटा संसद बैठकमा उनले आफ्नो वाककटुताको निख्खर कौशलता देखाएर भन्दै थिए, ‘फाइल खोल्छु – फाइल खोल्छु भन्ने कुरामात्रै भए तर यथार्थमा केही भएन ।’ उनको यो झटालो तत्कालिन गृहमन्त्री रवि लामिछानेलाई थियो ।

तर आज सरकार फेरिएर रमेश लेखक गृहमन्त्रीमा नियुक्त भएको ५० दिन पुग्न थालेको छ । यो अवधिमा लेखकले लेख्नै पर्ने गरि कुनै समाचार दिएका छैनन् । अर्थात् उनी सत्तामा गएपछि गरेको कुनै काम वा उपलब्धी फेला परेको छैन । बरु देशमा गृहमन्त्री पनि छन् र ? भन्ने अवस्था आएको छ । अर्थात् उनको दृष्टिदोष हो कि, भ्रमको खेती ? प्रतिपक्षमा हुँदा यो देशमा समस्याको चाङबाहेक अरु केही देखेनन् । सम्भवतः संसदमा त्यही ‘ड्युटी’ बफादारिताका साथ पुरा गरेको ‘बक्सिस’ हुनुपर्छ देउवाले उनैलाई गृहमन्त्री बनाए । अझ त्यसमा एउटा सर्त पनि झुण्डिएको हुनुपर्छ– गृहमन्त्री भएपछि देवर–भाउजु, बिचौलिया वा पार्टीका कारिन्दा कसैलाई पनि कुनै कसुरमा पक्राउ गर्न पाइनेछैन ।

गृहमन्त्री लेखकले अन्तिमपटक गरेको काम मर्स्याङ्दी बस दुर्घटनाको अवस्था बुझ्न नेपाल आएकी भारतीय युवा खेलकुद राज्यमन्त्री निखिल खड्सेसँगको छलफल हो । त्यो भन्दाअघि गृहमन्त्रालय र अन्तर्गतको बार्षिक कार्यसम्पादन सम्झौता कार्यक्रममा सहभागी हुनु हो । त्यो भन्दाअघि भारतीय विदेश सचिवसँगको भेट र जनकपुर पुगेर जिल्ला प्रशासन कार्यालयको भवन शिलान्यास गरेको विषय नै पछिल्लो १५ दिन यताको ठूलो उपलब्धी हो । जुनकुरा गृह मन्त्रालयकै सामाजिक सञ्जालहरुमा छरप्रस्ट छ ।

बरु सत्तामा पुगेपछि उनी नियतभन्दा बढी बद्नियतले भरिएका निर्णय गर्न तल्लिन बनेका छन् । साउन १२ गते डीआईजी मनोज केसीको सरुवा गरेका थिए । किनकि उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका थिए । काँग्रेससँग निकट मानिएका झालाई पक्राउ गरेपछि डीआईजीको सरुवा गरिएको विषय बाहिर आयो । तर गृहमा रहेका बेला रविले इन्स्पेक्टरलाई सरुवा गर्दा केस्रा–केस्रा केलाएर हिसाबको खोजी गरेका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाहरु चुइक्क बोल्न सकेनन् ।

त्यसलगत्तै उनले तीन एआईजीको सरुवा गरे । सीआईबीको नेतृत्व श्यामलाल ज्ञवालीबाट खोसेर दीपक थापालाई दिए । सुनकाण्डमा कारबाही सिफारिस परेकी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालयमा ल्याए । अहिले विश्वप्रकाश र गगनहरु गृहमन्त्रीका कामको हिसाब खोज्न सार्वजनिक रुपमा बोल्न त सकिरहेका छैनन्, तथापी कानमै पुगेर कानुखुशीसम्म गरेकी भन्ने आश गर्न सकिन्छ ।

विपक्षमा हुँदा गृहमन्त्रीमाथि अधिकांशमध्ये धेरै प्रश्न उठाउनेहरुमा लेखक थिए । उनको शालिन वाककटुताको तिखो प्रहारले त्यतिबेला सत्तामा रहेका प्रचण्ड र रविहरुलाई ठहरै पारेको थियो । सबैभन्दा पेचिलो प्रश्न उनी गृहमन्त्रीले जीवी राईलाई पक्राउ गर्न सकेनन् भनेर उठाउँथे । तर आज आफै गृहको नेतृत्वमा पुगेको ५० दिनबितिसक्दा समेत जीबी राईका बारेमा नाजवाफ छन् । रवि हुँदा कम्सेकम अलिअलि नयाँ कोशिसका कुरा सार्वजनिक भइरहेका थिए । तर अहिले त्यो पनि शून्य बनेको छ । जीबीसँगै सहकारीमा रवि पनि दोषी रहेको भन्दै प्रमाणको थुप्रो देखाउने काँग्रेस महामन्त्री पनि आफ्नै दाई सत्तामा पुगेपछि पक्राउबारे एक शब्द बोल्न सकिरहेका छैनन् । रविविरुद्धको प्रमाण खोई ? भन्दै काँग्रेस नेताहरुलाई सोध्दा अहिले जवाफ आउँदैन ।

त्रिविमा गुण्डागर्दी बढेको र ज्यान जोगाउनै मुस्किल परेको भन्दै शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालबाटै गृहमन्त्रीसँग सुरक्षा माग गरेकी थिइन् । सुशासन र शान्ति सुरक्षाको अवस्थालाई हेर्दा लेखकका पालामा आफ्नै क्याबिनेटका मन्त्री असुरक्षित छन् । कोटीहोमका नाममा पशुपतिमा लुटिहोम चल्यो । अपराधी प्रमाणित धर्मगुरुको वास्तविकता उजागर गर्दा झण्डै आधा दर्जन पत्रकार कुटिए । लेखकको गृह प्रशासन यति कमजोर देखियो कि, अन्तिम दिन गौशालाका प्रहरी नै कुटिए ।

युवाहरु खबरदारीमा निस्किए । प्रहरीले व्यापक दमन गरेर निर्घात कुटपिट गर्‍यो । भीड सम्हाल्नेभन्दा पनि लेखक भड्काउनेतर्फ उन्मुख बने । रमेश लेखकजस्तो गफले दुनियाँलाई दुहाई दिनसक्ने गृहमन्त्री भएका बेला राजनीतिक दलका शिर्ष नेतालाई ताकेरै युवाहरुले टुँडीखेलमा नामै किटेर नाराबाजी गरे । युवाहरुको आक्रोश प्रधानमन्त्री केपी ओली र उनै लेखकका सभापति शेरबहादुर देउवा लक्षित थियो । जसको बद्लामा देउवा रिसले चुर हुँदै आफ्नै छोरा जयवीरलाई थर्काएजस्तो ‘बद्मासहरु’ भन्दै कुर्लिए । त्यसको भोलिपल्टै तीनजना युवाहरु पक्राउ परे । प्रतिव्यक्ति नौं हजार धरौंटीमा कागजी गरि तीन दिनपछि छुटे । यसले युवाहरुले गलत गरेभन्दा पनि लोकतन्त्रमा विरोधसमेत निषेध गरिँदैछ भन्ने अर्थ लाग्यो । जबकि जनतामा आक्रोश बढ्दैछ भन्ने कुराको नेतृत्वलाई हेक्का छैन । जनता के चाहन्छन् भन्ने कुरा मतलब छैन । अनि विरोध गर्दा पक्राउ र बद्मासको बिल्ला पनि अब जनताले नै भिर्नुपर्ने बेला आएको छ ।

लोकतन्त्रमा नेता र दलप्रति विरोध र प्रदर्शन हुनु स्वभाविक हो । जबकि यीनैले हिजो ‘ज्ञाने चोर देश छोर’ भन्ने नारा लगाउन सिकाएका थिए । अहिले ‘केपी चोर देश छोर – देउवा चोर देश छोर’ भन्दा कत्रो आपत्ति ? त्यसमाथि झन र्‍याल झार्दा–झादै पाँचपटकसम्म प्रधानमन्त्रीमा झलेका जनताले अझै आजिवन झेलिदिनुपर्छ भन्नेहरुलाई खाँदा र मालाले स्वागत गर्ने भन्ने त पक्कै हुँदैन होला ? जनताकै खुन पसिनामाथि बर्षाैदेखि रजाई गरेर लाज पचाएकाहरुलाई अहिले लाज नभएकाहरु भन्ने हक कसले दियो होला ?
बेलैमा सुध्र, नत्र सकिन्छौं ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु