काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिदीमा ‘एक घर, एक धारा’

4.47K
shares

म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शान्ति माविमा दुई वटा धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले बताए ।

“सबै घरमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ”, उनले भने, “खानेपानीका लागि सार्वजनिक धारा, कुवा, पँधेरामा धाउँदा हुने समयको बचतका साथै सहज भएको छ ।”

हिदी मङ्गला गाउँपालिकाको विकट र दुर्गम क्षेत्रमा पर्ने बस्ती हो । त्यहाँका बासिन्दाले यसअघि सार्वजनिक धारा, कुवा र मुहानबाट व्यक्तिगत लगानीमा पाइपमार्फत घरघरमा पानी लगेर उपभोग गर्दै आएका थिए । व्यवस्थित रूपमा वितरणपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ ।

पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकताअनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् । आयोजनाको दिगो सञ्चालनका लागि महसुल निर्धारण र हेरालुको व्यवस्था गर्ने उपभोक्ता समितिका अध्यक्ष पुनले बताए ।

छहरा टाउको, चुच्चे ओखर र लामो छहरामा रहेका तीन वटा मुहानको पानीलाई तीन वटा ट्याङ्कीमा सङ्कलन गरी आठ हजार दुई सय मिटर पाइप लाइनमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आयोजना निमाणका लागि नेवा संस्थाले रु २२ लाख २० हजार नौ सय ४३ र मङ्गला गाउँपालिकाले रु १० लाख ६४ हजार दुई सय ६३ सहयोग गरेका नेवाका प्राविधिक गोर्खबहादुर शाहीले बताए ।

रु १२ लाख छ हजार पाँच सय ३७ बराबरको श्रमदान गरेका उपभोक्ताले रु एक लाख ९२ हजार पाँच सय आठ नगद पनि लगानी गरेका छन् ।

नेवा, मङ्गला गाउँपालिका र समुदायको साझेदारीमा आर्थिक वर्ष २०८०/८१ मा हिदीसहित मङ्गलाको र्यालेखोर–खुम्लिया–भाइवाङ र खानीगाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएको छ । खुम्लिया, र्यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । र्यालेखोरको आयोजना लिफ्ट प्रविधिको हो । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।