गृहपृष्ठ उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताए ।
उनले भने, “उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका आधार स्तम्भ हुन् ।”
उनले नेपालको विकास पथमा मित्रराष्ट्र स्वीट्जरल्याण्डको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताए । “नेपालको शान्ति प्रक्रियामा सुरुवाती चरणदेखि नै स्वीस सरकारको महत्वपूर्ण सहयोग रही आएको छ”, उपराष्ट्रपति यादवले भने, “यसका लागि म स्वीस सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।”
उनले बहुपक्षीय मञ्चमा जलवायु परिवर्तनलगायतका अन्तर्राष्ट्रिय मुद्दाहरुमा स्वीट्जरल्याण्डको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आपसी हितका विषयमा दुईपक्षीय र बहुपक्षीय मञ्चमा दुवै देशको सहकार्य निरन्तर कायम रहनेमा आफू आशावादी रहेको बताए ।
प्रकाशित समय : १८:१० बजे



















