nmb bank

गृहपृष्ठ सीप सिकेपछि आत्मनिर्भर बन्दै सदा समुदायका महिला

सीप सिकेपछि आत्मनिर्भर बन्दै सदा समुदायका महिला

सीप सिकेपछि आत्मनिर्भर बन्दै सदा समुदायका महिला

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित दलित समुदायका महिला सीप सिकेपछि स्वरोजगार बन्दै गएका छन् । यसअघि परम्परागत पेसा ढकीमा माटो तथा गिटी बालुवा बोक्ने, जङ्गलबाट दाउरा सङ्कलन र बिक्री गरेर जीविकोपार्जन गर्दै आएका यहाँका महिला सीप सिकेपछि सिलाइ कटाइबाट आत्मनिर्भर बन्दै गएका हुन् ।

त्रियुगा–६ जलजलेका पाँच जना मुसहर परिवारका सदा महिलाले आफ्नो परम्परागत पेसा छाडेर सिलाइ कटाइको तालिम लिएपछि अहिले ‘सिलाइ केन्द्र’ सञ्चालन गरी स्वरोजगार बन्दै गएका जिल्ला सिलाइ कटाइ सङ्घकी संयोजक ज्ञानु प्रधानले बताइन ।

दुई सय सदा महिलालाई तालिम दिएको बताउँदै प्रधानले पाँच जनाले सिलाइ केन्द्र सञ्चालन गरिरहेका जानकारी दिइन । “मुसहर जातिका महिला पढ्नलेख्न नपाउँदा परम्परागत पेसा गर्न बाध्य थिए । अहिले सीप सिकेपछि स्वरोजगारतर्फ उन्मुख भइरहेका छन”, उनले भनिन ।

जिल्ला घरेलु तथा साना उद्योग महासङ्घ र त्रियुगा नगरपालिकाको सहयोगमा पटकपटक गरी दुई सयलाई सामान्य, मध्यम र ‘एडभान्स’ तालिम दिइएको भन्दै तालिम लिइसकेपछी पाँचजना सदा महिलाले केन्द्र सञ्चालनसँगै आफ्नो परम्परागत पेसा परिवर्तन गरेका संयोजक प्रधानले बताइन । जलजले बजारमा ‘प्रिन्सा सामूहिक टेलर्स’ मार्फत सुनिता सदा, यशोदा सदा, रामवती सदा, फुलवती र दीपा सदा स्वरोगार बन्दै गएका हुन् ।

यशोदाले भनिन, “सिलाइ कटाइ तालिम लिएपछि सामुहिक रुपमा सिलाइ केन्द्र सञ्चालन गरी परम्परागत पेसा छोडेका छौँ । अहिले हामी व्यावसायिक सिलाइमा आबद्ध छौँ ।” सामान्य, मध्यम र एडभान्स गरी तीन चरणमा करिब एक वर्ष तालिम लिएको भन्दै तालिपछि व्यावसाय सञ्चालन गर्न सक्षम बनेको उनले बताइन ।

नगरपालिका र साना घरेलु उद्योग महासङ्घको सहयोगमा पाँच वटा सिलाइ मेसिनसमेत सहयोग प्राप्त गरेपछि पाँच महिनादेखि सामूहिक टेलर्स सञ्चालन गरिरहेको रामवतीले जानकारी दिइन । आफूहरु समुदायमा पनि दलित परिवारमा पर्ने भएकाले विद्यालय पढ्न नपाएको तथा सानैदेखि परम्परागत काम गर्न बाध्य रहेको बताउँदै तालिम पश्चात् आत्मनिर्भर बन्दै गएको उनले उल्लेख गरिन ।

 

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु