उच्च शिक्षा अध्ययनको लागि हिँडेकी नेहाको दुर्घटनामा मृत्युपछि सिंगो गाउँ शोकमग्न
वि.सं.२०८१ असार १५ शनिवार २०:२८
shares

उच्च शिक्षा अध्ययनका लागि हिँडेकी एकजना छात्राको रौतहटस्थित गौर चन्दरनिगाहपुर सडकखण्डमा बस दुर्घटनामा परेर मृत्यु भएको छ ।
गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन ।
माधव नारायण नगरपालिका ३ सखुअवा स्थित श्री देवी माध्यमिक विधालयबाट एसईई २०८० मा ३/ २३ जिपिए ल्याएर उतिर्ण भएकी नेहा कुमारी गिरी उच्च शिक्षा अध्ययनको लागि घरबाट बिरगंज जानेक्रममा आज बिहानै बस दुर्घटना हुदा मृत्यु भएको थियो । उनको मृत्युको खबरले सिंगो गाउँनै शोकमग्न बनेको छ । दुईदिन अघि छोरी एसईई पास भएको जानकारी पाएपछि परिवारको सल्लाह अनुसार उच्च शिक्षा अध्ययन गरेर देशको सेवा गर्छिन भनी ठूलो आकांक्षा साथ नेहालाई वीरगन्ज पठाएको थिए । तर नेहाको मृत्युको खबरले सिंगो परिवारमाथि बज्रपात खसेको नेहाका बाबु शैलेन्द्र कुमार गिरीले दुखेसो पोखेका छन् ।
दुर्घटनामा गिरीको मृत्युसंगै अन्य १३ जना यात्रु घाईते भएका छन् । प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्रगतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन।
दुर्घटना लगत्तै फरार भएका बस चालक चन्द्रपुर नगरपालिका ८ मोतिपुर बस्ने बर्ष ३९ को सहदेव चौधरीलाई प्रहरीले उसको घरैबाट पक्राउ गरेको छ । बस चालक चौधरी ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

























