गृहपृष्ठ निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग–भुषुण्डीको निवासस्थल रहेको बताइएको छ ।
धार्मिकग्रन्थ र संस्कृत साहित्यमा निलगिरि र अन्नपूर्ण हिमालबीचको भागमा भविष्यद्रष्टा सन्त (ऋषि) काग–भुषुुण्डी द्धापर युगमा यही आएर बसेका वर्णन गरिएकाले यस क्षेत्रलाई काग–भुषुण्डीको निवास क्षेत्रका रूपमा व्याख्या गरिएको संस्कृतविद् डा जगमान गुरुङ (दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवर्द्धन सङ्घले गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिले सम्मान गरेको छ) ले बताए ।
संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो कृति ‘कुमारसम्भव’मा ‘अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः’ अर्थात् उत्तर दिशामा देवतास्वरूपका हिमालय नामका पर्वतराजहरू विराजमान छन् भनेर वर्णन गरेका छन् ।
भारतीय संस्कृति र साहित्यका महाकवि गोस्वामी तुलसीदासले श्रीराम चरित्रमानसमा पनि काग–भुषुण्डीको निवास नीलपर्वत (नीलगिरि हिमाल) भएको उल्लेख गर्दै यो हिमालको महिमा गान गरेका छन् । काग–भुषुुण्डीलाई कागस्वरूपका एक सन्त ज्ञानी ऋषि मानिन्छ ।
नेपाल ऋषि प्राध्यापक डा गुरुङले श्रीराम चरित्रमानसमा निलगिरि हिमाल परिसरको सुन्दर वनजङ्गल, पवित्र नदी, सरोवर र स्वर्णमय पर्वत शिखरको वर्णन गरिएको उल्लेख गरे । उनका अनुसार श्रीराम चरित्रमानसमा वर्णित पवित्र नदी कालीगण्डकी हुन् ।
“वनजङ्गलचाहिँ त्यहाँका देवदारुका जङ्गल हुन् । सरोवरचाहिँ दामोदरकुण्ड हो । निलगिरिबाट दामोदरकुण्डसम्मको भूभाग मुक्तिक्षेत्र हो”, डा गुरुङले भने । उनका अनुसार अन्तका काग काला र साना हुन्छन् भने दामोदरकुण्डका काग सेता र ठूला हुन्छन् । दामोदरकुण्डमा पाइने यी सेता कागलाई अहिले पनि काग–भुषुुण्डीको स्वरूप मानिने उनको भनाइ छ । मधेस र पहाडखण्डमा पाइने कुश दामोदरकुण्डमा उम्रेको पाइन्छ । दामोदरकुण्डका सेता काग र त्यहाँ उम्रेका कुश नेपाललाई प्रकृतिको वरदान भएको उनले बताए ।
प्रकाशित समय : १४:४३ बजे



















