global ime bank Long Banner Ad

गृहपृष्ठ किसानलाई वरदान बन्यो झोलुङ्गे पुल

किसानलाई वरदान बन्यो झोलुङ्गे पुल

किसानलाई वरदान बन्यो झोलुङ्गे पुल
पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै थिइन । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उनले पुल बनेपछि आउजाउ सहज बनेको सुनाइन । “पहिले एक घण्टा लाग्थ्यो, अहिले दश-पन्ध्र मिनेटमा खेतमा पुगिन्छ”, पौडेलले भनिन  “पुल बनेपछि धेरै सुविस्ता भएको छ ।”
गण्डकी प्रदेश सरकारको लगानीमा यही वर्ष उक्त झोलुङ्गे पुल बनेपछि हेम्जावासी प्रत्यक्ष लाभान्वित भएका हुन् । पुल बनेकै कारण टिमिरेचौर क्षेत्रमा खेती किसानी गर्नेको सङ्ख्या बढ्न थालेको पौडेलले बताइन । “पहिले यहाँको अधिकांश जग्गा बाँझै थियो, पुलले आवातजावत सहज बनाएपछि फेरि खेतीपाती सुरु भएको छ”, उनले भनिन ।
हेम्जामा सडक र नहरको सुविधा आएपछि झण्डै ३० वर्षदेखि उपल्लो टिमिरेचौर, तल्ला टिमिरेचौर, चिसाखोलालगायत क्षेत्रमा स्थानीयले कृषि गर्न छाडेका थिए । खेतबारी झाडीमा परिणत भएको थियो । ६४ वर्षीय ऋषिराम पौडेलका भनाइमा त्यस क्षेत्रमा पहिले धानलगायत खेतीबाली गरिन्थ्यो । “हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै यही थियो, यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्यो”, उनले भनिन,“पछि सबै हेम्जातिर सरेपछि यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ ।”
उनले आफूले पनि यस वर्षको रोपाइँका लागि बीउ राख्ने तयारी गरेको सुनाए । ऋषिरामले पुल बनाउनका लागि जग्गासमेत दिए । उनले पुल छेउछाउमा रहेको जग्गामा तरकारी खेती गर्दै आएका छन् । सोही ठाउँका गोविन्द पौडेलले उपल्लो टिमिरेचौरमा ७५ घरपरिवारको जग्गा रहेको बताए । “पहिले दुई भाइ पौडेलको दुई सय मुरी धान हुने खेत यहाँ थियो, जेठबुढो धान लगाइन्थ्यो”, उनले भने, “झण्डै २५-३० वर्ष यहाँ रोपाइँ नै भएन, अहिले फेरि किसान रोपाइँको तयारीमा लागेका छन् ।”
खेतमा आउजाउको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले त्यो क्षेत्र पछाडि परेको गोविन्दले बताए । “अहिले पुलले धेरै सहज भयो, किसान फेरि कृषितिर फर्किन थालेका छन्, बाहिरबाट आएर जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेहरु पनि छन्”, उनले भने, “हेम्जावासीका लागि यो झोलुङ्गे पुल वरदान नै सावित बनेको छ ।”
पहिले पैदल तल खोलामा झेरर फेरि माथि खेतमा उक्लँदा सारै दुःख हुने गरेको हेम्जाकी दुर्गा पौडेलले बताइन । “जाँदा मल बाकेर, फर्कदाँ धानको भारी लिएर आउँदा निकै गाह्रो हुन्थ्यो, अहिले धेरै सजिलो भएको छ,  पुल बनेपछि सिँचाइ कुलोका लागि पनि बजेट आएको छ”, उनले भनिन “झाडी पल्टिएको जग्गालाई सफाइ गरेर कृषि गर्न सुरु गरिएको छ ।”

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु