global ime bank Long Banner Ad

गृहपृष्ठ म्यारियट र सीजी हस्पिटालिटीबीच नेपालमा दुई अल्ट्रा लक्जरी होटल सञ्चालन सम्झौता

म्यारियट र सीजी हस्पिटालिटीबीच नेपालमा दुई अल्ट्रा लक्जरी होटल सञ्चालन सम्झौता

म्यारियट र सीजी हस्पिटालिटीबीच नेपालमा दुई अल्ट्रा लक्जरी होटल सञ्चालन सम्झौता

काठमाडौं । म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ अल्ट्रा लक्जरी होटल सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा ल्याइनेछ ।

सम्झौतासँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० नयाँ ‘की’ थपिनेछन् भने कम्पनीका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्ड पहिलोपटक नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्ने भएका छन् । दुवै होटल सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

सीजी हस्पिटालिटी ग्लोबल चौधरी ग्रुपको हस्पिटालिटी क्षेत्रको प्रमुख व्यावसायिक इकाइ हो। चौधरी ग्रुप र म्यारियट इन्टरनेसनलबीच दक्षिण एसियाका विभिन्न हस्पिटालिटी परियोजनामा सहकार्य रहँदै आएको छ । नयाँ सम्झौताले दुई कम्पनीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

होटल परियोजना चौधरी ग्रुप, आईआईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको साझेदारीमा निर्माण हुने जनाइएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष डा. बिनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

द रिट्ज–कार्लटन काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलोमिटर दूरीमा निर्माण हुनेछ ।

होटल ठमेल, नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूप तथा पशुपतिनाथ मन्दिरजस्ता प्रमुख पर्यटकीय तथा सांस्कृतिक सम्पदास्थल नजिक रहने बताइएको छ ।

त्यसैगरी, द वेस्टिन काठमाडौं विमानस्थलबाट करिब सात किलोमिटर दूरीमा रहनेछ। होटलमा १५० प्रिमियम रुम तथा सुइट, तीन वटा डाइनिङ स्थल, फिटनेस स्टुडियो, स्पा, रूफटप स्विमिङ पुल तथा ७०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको बैठक तथा बैंक्वेट सुविधा रहनेछ। वेस्टिन ब्रान्डको विशेष वेलनेस अवधारणाअनुसार होटल विकास गरिने जनाइएको छ ।

म्यारियट र सीजी हस्पिटालिटीबीचको सहकार्य पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार भइरहेको छ। भारतमा ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटल सम्झौता सम्पन्न भइसकेका छन् भने विभिन्न अन्तर्राष्ट्रिय बजारमा समेत संयुक्त परियोजनाहरू अघि बढाइएका छन्।

म्यारियट इन्टरनेसनल विश्वकै अग्रणी हस्पिटालिटी कम्पनीमध्ये एक हो । कम्पनीले १४१ देश तथा क्षेत्रमा ९,१०० भन्दा बढी होटल सञ्चालन गर्दै आएको छ ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु