global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री दाहालको प्रमुख आतिथ्यमा प्रहरी निरीषक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

प्रधानमन्त्री दाहालको प्रमुख आतिथ्यमा प्रहरी निरीषक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

प्रधानमन्त्री दाहालको प्रमुख आतिथ्यमा प्रहरी निरीषक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औं ९पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम तथा कवाज प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गरे । साथै उनले सर्वद्वितीय एवम् प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सगुन खड्का, सर्वतृतीय तथा अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक आयुष ढुङ्गाना, मस्केट्री तथा चाँदमारी प्रथम एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोकुल कुमार धानुकलाई पुरस्कार प्रदान गरे ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हरेक जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको स्मरण गरे । गौरवमय इतिहास बोकेको संगठनका आज दीक्षित अधिकृतहरूले आफ्नो जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई एक कुशल प्रहरीले प्रदान गर्ने सेवाको अनुभूति हुने गरी सेवा प्रदान गर्न सफल हुने विश्वास उनले व्यक्त गरे ।

तालिमका दौरानमा गरेको मेहेनतले भोलिका दिनमा कार्यक्षेत्रमा आउन सक्ने हरेक चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास लिएको बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘तालिममा सिकेको सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु । साथै, कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने कुरामा पनि म विश्वस्त छु ।’

प्रधानमन्त्री दाहालले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यवसायिक एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सम्भव हुने भएकाले राष्ट्रले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य जनशक्ति उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्ने उल्लेख गरे ।

उक्त अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रतिष्ठानले राष्ट्रप्रति समर्पित, योग्य र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्दै आएको बताए । नेपाल प्रहरीलाई सक्षम, सुदृढ र जनमैत्री सुरक्षा संगठनको रूपमा विकास तथा विस्तार गर्न प्रहरी कर्मचारीको व्यावसायिकता र वृतिविकासमा टेवा दिन तथा प्रतिकूल परिस्थितिमा पनि राष्ट्रप्रतिको सेवाभावलाई दृढ बनाई राख्न प्रतिष्ठानले निर्वाह गरेको भूमिकाको उच्च
प्रशंसा गरे । सुरक्षा फौजमा रहेर देशको सेवा गर्ने अवसर सबैलाई प्राप्त नहुने बताउँदै गृहमन्त्री लामिछानेले भने ‘अनेकौं चुनौतिपन सँगै आफूलाई योग्य प्रमाणित गरेर तपाईंहरूले राष्ट्र सेवाको ऐतिहासिक अवसर प्राप्त गरे । राष्ट्रले गरेको लगानी र दिएको जिम्मेवारी प्रति आत्मबोध गर्दै यहाँहरूले इमानदार र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’ विधिको शासन र कानूनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, योजना र कार्यक्रमलाई अक्षरस पालना गर्दै शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा नागरिकमैत्री सेवा दिनेमा विश्वस्त
रहेको उनले बताए ।

प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गरेका थिए । दीक्षान्त समारोहमा संघीय सांसद एवम् पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, प्रधानसेनापति प्रभुराम शर्मा, गृह सचिव एकनारायण अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु