global ime bank Long Banner Ad

गृहपृष्ठ चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले १९ अर्ब २४ करोड ७२ लाख आयकर सरकारलाई बुझाए

चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले १९ अर्ब २४ करोड ७२ लाख आयकर सरकारलाई बुझाए

चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले १९ अर्ब २४ करोड ७२ लाख आयकर सरकारलाई बुझाए

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूले सरकारलाई तिरेको आयकर ३.७५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले १९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका हुन् । गत वर्षको यसै अवधिमा बैंकहरूले १९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ आयकर तिरेका थिए ।

गत वर्षको यसै अवधिको तुलनामा अहिले बैंकहरूको आयकर ७५ करोड रुपैयाँले घटेको छ । पुस मसान्तमा बैंकहरूको आयकर ९.१५ प्रतिशतले ऋणात्मक रहेको थियो । गत पुसको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब २७ करोड रुपैयाँ कम राजस्व बैंकबाट असुली भएको थियो । पछिल्लो समय मुलुकले भोग्दै आएको आर्थिक शीथिलताको असर बैंकहरूमा परेको हो । आर्थिक सुस्तताका कारण बैंकहरूको खराब कर्जा बढेको छ ।

खराब कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानीबापत छुट्याउनुपर्ने रकम पनि बढेको छ । सोही कारण नाफामा संकुचन आएको हो । समग्र व्यवसायमा संकुचन आउँदा यसको असर आयकरमा पनि पर्न गएको जानकारहरू बताउँछन् । चैत मसान्तमा वाणिज्य बैंकहरूको करअघिको नाफा १२.१० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले करअघि ५९ अर्ब ९३ करोड लाख रुपैयाँ नाफा गरेका छन् ।

गत वर्षको सोही अवधिमा बैंकहरूले यस्तो नाफा ६८ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा बैंकहरूको कर अगाडिको नाफा ८ अर्ब २५ करोड रुपैयाँले घटेकाले बैंकहरूको तिर्ने आयकरमा कमी आएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले ६ अर्ब ७ करोड, दोस्रो त्रैमासमा ६ अर्ब ५९ करोड रुपैयाँ र तेस्रो त्रैमासमा ६ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ आयकर तिरेका छन् ।

जानकारहरूका अनुसार, अर्थतन्त्रले गति नलिएसम्म बैंक पनि समस्यामुक्त हुन सक्दैन । अर्थतन्त्रले विस्तारै गति लिँदै जाँदा बैंकको कर्जा असुली पनि हुँदै जाने र त्यसले बैंकिङ प्रणालीलाई नै स्वस्थ बनाउन सहयोग गर्छ । अर्थतन्त्र चलायमान भएसँगै खराब कर्जाको अवस्थामा सुधार हुने, नाफा पनि विस्तारै बढ्ने र राज्यलाई तिर्ने आयकर पनि बढ्दै जाने जानकारहरू बताउँछन् ।

कुन बैंकले कति तिरे कर ?
चालु आर्थिक वर्षको चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा गर्ने नबिल बैंकले सबैभन्दा धेरै आयकर तिरेको छ । यस बैंकले १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ आयकर तिरेको छ । यस्तै सबैभन्दा धेरै आयकर तिर्ने बैंकको दोस्रो नम्बरको सूचीमा प्रभु बैंक रहेको छ । यस बैंकले १ अर्ब ५५ करोड रुपैयाँ कर तिरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ४१ करोड रुपैयाँ राज्यलाई आयकर तिरेको छ ।

यस्तै ग्लोबल आईएमई बैंकले १ अर्ब २३ करोड ४४ लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब २३ करोड ३० लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब २३ करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ११ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ६ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १ करोड रुपैयाँ, एनएमबि बैंकले ९३ करोड ५३ लाख रुपैयाँ आयकर तिरेका छन् ।

यस्तै सिद्धार्थ बैंकले ७४ करोड रुपैयाँ, एनआईसी एसिया बैंकले ७० करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकले ६६ करोड ८४ लाख रुपैयाँ, कृषि विकास बैंकले ६३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६२ करोड ६४ लाख रुपैयाँ, सानिमा बैंकले ५६ करोड ७४ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ५३ करोड ४२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ५१ करोड ४३ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडले ४५ करोड ७९ लाख रुपैयाँ आयकर कर सरकारलाई तिरेका छन् ।

बैंक वित्तीय संस्थाहरूले कुल नाफको ३० प्रतिशत आयकर बुझाउनुपर्ने व्यवस्था आयकर ऐन २०५८ ले गरेको छ । यसका अतिरिक्त बैंकहरूले १० प्रतिशत ब्याज कर, पुँजीगत लाभकर र कर्मचारीको आयकर सरकारलाई बुझाउने गरेका छन् ।

 

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु