कर्मचारीको तलब १५ दिनभित्र दिलाउने मेयर खातुनको प्रतिवद्धता
वि.सं.२०८१ वैशाख १ शनिवार १४:३४
shares

रौतहटको फतुवा बिजयपुर नगरपालिकाकी मेयर अम्बेया खातुनले कर्मचारीको बक्यौता तलब १५ दिनभित्र उपलब्ध गराउने प्रतिवद्धता गरे ।
दुईसाता अघी कर्मचारीले लगाएको ताला शुक्रवार दुईपक्षीय सहमती हुँदा खुल्ला गरिएको छ। ईलाका प्रहरी कार्यालय बिजयपुर शुक्रवार जनप्रतिनिधि र कर्मचारीको संयुक्त बैठकमा कार्यवाहक मेयर अम्बेया खातुनले १५ दिनभित्र सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने प्रतिवद्धता गरे ।
१५ दिनभित्र सम्पूर्ण कर्मचारीको तलब निकासा गराउने मेयर खातुनले प्रतिवद्धता जनाए लगत्तै कर्मचारीले नगरपालिकाको साँचो मेयरका श्रीमान महमद सेराजको जिम्मा लगाएका थिए। महमद सेराजले शुक्रवार साँझ कर्मचारी र प्रहरीको रोहवरमा फतुवा विजयपुर नगरपालिकाको ताला खुला गरेको प्रहरीले जनाएको छ।
दुईपक्षीय बैठकमा मेयर अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत वकील पाल, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिजय कार्की, नगर स्वास्थ संयोजक प्रमोद गुप्ता लगायतको सहभागिता रहेको थियो। जनप्रतिनिधि बिच आपसी विवादको कारण यस आर्थिक वर्षको साउन देखि हालसम्म तलब पाउन नसकेका कर्मचारीहरुले दुईसाता अघी फतुवा बिजयपुर नगरपालिकामा तालाबन्दी गरेर साँचो सिडियो हिरालाल रेग्मीको हातमा बुझाएका थिए।
यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको फतुवा बिजयपुरबाट सरुवा भएसंगै नयाँ अधिकृत पाल र मेयर खातुन चारदिन अघी नगरपालिकाको साँचो सिडियो रेग्मीको हातबाट बुझेका थिए। फतुवा विजयपुरमा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण सम्पूर्ण आर्थिक कारोवार बन्द भएर त्यहाँको शिक्षक कर्मचारी गरी ३५० जनाले साउन देखि हालसम्म तलब पाएका छैनन्।
तलबको माग गर्दै पटकपटक आन्दोलन गर्दै आएका शिक्षकहरूको तलब होलिपर्व लगत्तै उपलब्ध गराउने प्रदेश सांसद तथा नेपाली कांग्रेस रौतहटका सभापती सुनिल कुमार यादव ९ जितेन्द्र० को पहलमा सहमती भएको थियो।
तर उक्त सहमती हालसम्म कार्वान्यान भएको छैन। यस अघिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र वडा अध्यक्षहरुको मिलोमतोमा वडाको विकासको सिलिङ बढाएको भन्दै मेयर खातुनले कोलेनिकामा सहमती नगर्दा शिक्षक कर्मचारीको तलब हालसम्म निकासा भएको छैन।
मेयर खातुनको पहलमा केहीदिन अघिमात्र प्रमुख प्रशासकीय अधिकृत प्रधानको स्थानमा वकील पाल लाई ल्याईएको छ। उता फतुवा बिजयपुरका वडा अध्यक्षहरु आरोपको खण्डन गर्दै मेयर खातुनकै कारण नगरको अवस्था दयनिय भएको दाबी गर्दै आएका छन्।
नेपाली कांग्रेसको टिकट बाट निर्वाचित फतुवा विजयपुरको तत्कालीन मेयर गोपाल राय यादव लालबकैया नदीको टेण्डरमा अख्तियार द्वारा दोषी ठहर भएर गत वर्ष पद गुमाएपछि कांग्रेस कै निर्वाचित उपमेयर अम्बेया खातुन कार्यवाहीको जिम्मेवारी पाएकी थिइन्।
























