बदाम बेचेर नमुना उद्यमी बन्नुभएकी ७२ वर्षीया शिवमाया
वि.सं.२०८० चैत ११ आइतवार ११:१४
shares

बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन् । बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनी बताउछिन् । पैतालीस वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छीन् ।
“आफूले सकेको काम गर्नुपर्छ”, वृद्धा कार्कीले भनिन्, “धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ । गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा रु १५ देअि २० हजारसम्म आम्दानी हुन्छ ।” जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उनले बताइन् । किसानले उत्पादन गरेको बदाम प्रतिपाथी रु तीन सयमा खरिद गर्दै आएको उनले बताइान् ।
आफूले खरिदपश्चात भुटेर प्रतिकेजी रु तीन सय ५० मा बिक्री गर्ने उनले जानकारी दिइन् । “बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउदै आएकी छु, दुई–चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ”, उनले भनिन् ।
किसानबाट एक वर्षमा रु चार लाखसम्मको बदाम खरिद गर्ने उनले बताइन् । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उनले बदाम बेच्दै आएकी छिन् । वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरिन् ।
विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उनको अनुभव छ । “विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो”, उनले भनिन्, “अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ । स्थानीय सरकारले बदाम खेती प्रवद्र्धन गर्नुपर्छ ।”

























