global ime bank Long Banner Ad

गृहपृष्ठ बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

बेनी नगरपालिकाद्वारा सात गौरवका योजना सञ्चालन

बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसमेतको साझेदारीमा छनोट भएका ठूला योजनाको कार्यान्वयन सुरु भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र गौरवका योजनाका रूपमा छनोट भएका सबै योजनालाई ठेक्कामार्फत कार्यान्वनय गर्न लागिएको छ । सातवटा योजनामध्ये चारवटा योजना ठेक्का सम्झौता भएर कार्यान्वनयको चरणमा रहेको र तीनवटा ठेक्का सम्झौताको चरणमा रहेको कार्यालयका असिस्टेन्ट सबइन्जिनियर चन्द्रबहादुर थापाले जानकारी दिए ।

ठेक्का सम्झौता भएकामध्ये सिंगा तातोपानीको माथिल्लो बजार कालोपत्र गर्ने योजनाको काम अघि बढेको छ ।  ३२ लाख ९० हजार बजेट विनियोजन भएको यस योजना  २५ लाख ६८ हजारमा श्रमजीवी निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । सम्झौताबमोजिम तातोपानी बजारभित्र ढलान र कालोपत्रको काम अघि बढेको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले जानकारी दिए ।

नगरपालिकाले सबैभन्दा धेरै प्राथमिकतामा राखेको बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकमा  दुई करोड बजेट विनियोजन भएको छ । यसअघि नगरपालिका र प्रदेश सरकारमार्फत सडक ढलान र कालोपत्र गरी स्तरोन्नति गरिएको ठाउँबाट योजनालाई अघि बढाइने भएको छ । श्रमजीवी निर्माण सेवासँग  एक करोड ३४ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको यस योजनामा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरिने असिस्टेन्ट सबइन्जिनियर थापाले बताए ।

पाँच मिटर फराकिलो बनाइने यस सडकमा नाली र पर्खालसमेत निर्माण हुनेछन् । नगरपालिकाले माहारानीथान–छाप–डाँडाखेत सडकलाई कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न ठेक्का लगाएको छ ।  ८३ लाख ५० हजार बजेट विनियोजन भएको यस सडकखण्डको करिब चार सय मिटर सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गर्न श्रमजीवी निर्माण सेवासँग  ५९ लाख ५९ हजारमा ठेक्का सम्झौता भएको छ ।

नगरपालिकाले बेनीबाट वडा नं ५ पुलाचौरको वडा कार्यालयलाई जोड्ने गरी अघिल्ला वर्षहरूमा समेत कालोपत्र र ढलान गरी सडक स्तरोन्नति गर्न सुरु भएको योजनालाई यस वर्षसमेत निरन्तरता दिएको छ । अर्थुङ्गे–पुलाचौर–भूतपानी सडक स्तरोन्नतिका लागि ८० लाख बजेट विनियोजन भएकामा ५९ लाख ५२ हजारमा ठेक्का सम्झौता भएको छ । बाँसबोट क्षेत्रबाट सडकलाई कालोपत्र, ढलान, नाली र पर्खाल निर्माणलगायतका काम गरेर सडक पक्की बनाइने नगरपालिकाले जनाएको छ ।

यी चारवटै सडक पूर्वाधारका योजनाको जिम्मा पाएको श्रमजीवी निर्माण सेवाले योजनाको सम्झौतालगत्तै कार्यक्षेत्रमा मेसिन, उपकरण र निर्माण सामग्रीको व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ । “तातोपानीमा सडक कालोपत्रको काम भइरहेको छ, अन्य ठाउँमा समेत काम सुरु हुँदैछ, निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्नेगरी जनशक्ति र मेसिन उपकरणको व्यवस्थापन गर्नेतर्फ प्रयासरत छु”, निर्माण व्यवसायी बानियाँले भने ।

तातोपानीको कालोपत्र योजना नगरपालिकाले मात्रै सञ्चालन गरेको हो । पुलाचौर र मारानथान–छाप सडकमा गण्डकी प्रदेश सरकारको समपूरक अनुदान, बेनी–पात्लेखेत सडकमा सङ्घीय सरकारको समपूरक अनुदानको बजेटसँग नगरपालिकाले साझेदारी गरेको हो । नगरपालिकाले जामुनाखर्क माविमा बनाउन लागेको नमूना विद्यालय भवनका लागि रु एक करोड बजेट विनियोजन भएको छ भने उक्त योजनबाट चारकोठे भनव निर्माणका लागि ठेक्का सम्झौताको प्रक्रियामा छ ।

नगरपालिकाले यसै वर्ष दुई खानेपानी आयोजनालाई समेत गौरवको योजनाका रूपमा अघि बढाएको छ । बेनी–२ खवरामा खानेपानी विस्तारका लागि  ४० लाख र वडा नं ५ पुलाचौरको पुलाडाँडा पुरुण्डी खानेपानी योजनाका लागि  ९० लाख बजेट विनियोजन भएको छ । यी दुवै योजना सम्झौताको चरणमा रहेको कार्यालयको पूर्वाधार विकास शाखाले जनाएको छ । योजनाको गुणस्तर कायम गर्न नियमित अनुगमन गरिने र योजनालाई प्रभावकारी बनाउनेतर्फ जोड दिएको नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु