गृहपृष्ठ वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै कोशी प्रदेशका, कर्णालीका न्यून
वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै कोशी प्रदेशका, कर्णालीका न्यून
नेपालमा रोजगारीको अवसर नभए पछि कामको खोजिमा नेपालबाट वर्षेनी रुपमा लाखौँ युवाहरु विदेश गइरहेका छन् । नेपालमा रोजगारी पाउन नसके पछि युवाहरु विदेशीने क्रम दिनप्रतिदिन बढी रहेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार नेपालबाट विदेश जाने युवाहरुको संख्या कोशी प्रदेश र मधेश प्रदेशबाट सबै भन्दा धेरै रहेको छ । विभागले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्यांक अनुसार कोशी प्रदेशबाट सबैभन्दा धेरै युवा युवतीहरु रोजगारीका लागि विदेश गएका छन् । वार्षिक तथ्यांक हेर्दा भने मधेश प्रदेशबाट धेरै युवा रोजगारीका खोजीमा विदेश गएको देखिन्छ ।
कात्तिक महिनामा नेपालबाट रोजगारीका गएका ४३ हजार ६२२ जना नेपाली मध्ये कोशी प्रदेशबाट सबैभन्दा बढी ९ हजार ४२० जना रोजगारीका लागि विदेशीयका छन् । एक महिनाको अवधिमा कर्णाली प्रदेशबाट सबैभन्दा कम युवा युवतीहरु रोजगारीका लागि विदेश गएको तथ्यांकले देखाएको छ । कात्तिक महिनामा कार्णाली प्रदेशबाट १ हजार २२९ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।
कात्तिक महिनामा रोजगारीका लागि विदेश जानेको संख्याका आधारमा दोस्रो स्थानमा मधेश प्रदेश रहेको छ । जहाँबाट एक महिनाको अवधिमा ८ हजार ७६६ जना रोजगारीका लागि विदेशीयका छन् । त्यस्तै यो अवधिमा बागमती प्रदेशबा ७ हजार ९५४ जना, लुम्बिनीबाट ७ हजार ७६६ जना, गण्डकीबाट ६ हजार ७८८ जना र सुदुरपश्चिमबाट १ हजार ६९३ जना रोजगारीका लागि विदेश गएका छन् ।
बार्षिक रुपमा मधेश अगाडि
कात्तिक महिनाको तथ्यांक अनुसार रोजगारीका लागि विदेश जानेको संख्या कोशीमा धेरै भए पनि वार्षिक रुपमा भने मधेश प्रदेशबाट सबैभन्दा धेरै युवा युवती विदेशीएका छन् । गत आर्थिक वर्षको तथ्यांक अनुसार मधेश प्रदेशबाट १ लाख ८१ हजार ६१३ जना श्रम स्वीृकति लिएर विदेश गएका छन् । वार्षिक रुपमा कर्णाली प्रदेशबाट नै सबैभन्दा कम नेपाली वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाएको छ । एक वर्षको अवधिमा कर्णाली प्रदेशबाट जम्मा २० हजार ३४३ जना रोजगारीका लागि विदेश गएका छन् ।
गत आर्थिक वर्षमा कोशी प्रदेशबाट १ लाख ६८ हजार २७८ जना रोजगारीका लागि विदेशीयका छन् । त्यस्तै बागमती प्रदेशबाट १ लाख १६ हजार ८९४ जना, लुम्बिनी प्रदेशबाट १ लाख ३४ हजार ४८३, गण्डकी प्रदेशबाट ९९ हजार ८०३ जना र सुदुरपश्चिम प्रदेशबाट ९६ हजार ७९५ जना रोजगारीका लागि विदेश गएका छन् ।
कर्णाली र सुदुरपश्चिम प्रदेशबाट रोजगारीका लागि धेरै युवाहरु भारतमा जाने गरेका छन् । तर विभागको तथ्यांकमा त्यो समेटिएको छैन । जसले गर्दा त्यहाँको संख्या कम देखिएको जानकारहरुको भनाइ छ । भारत जानेको संख्यालाई पनि यसमा गणना गर्ने हो भने कर्णाली र सुदुरपश्चिम प्रदेशबाट विदेश जानेको संख्या निकै धेरै हुने बताइन्छ ।
प्रकाशित समय : १३:४४ बजे

















