nmb bank

गृहपृष्ठ अर्थमन्त्री र गभर्नरले भनेजस्तो आर्थिक सुधार भएको छैन : चन्द्र ढकाल 

अर्थमन्त्री र गभर्नरले भनेजस्तो आर्थिक सुधार भएको छैन : चन्द्र ढकाल 

अर्थमन्त्री र गभर्नरले भनेजस्तो आर्थिक सुधार भएको छैन : चन्द्र ढकाल 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका आर्थिक सूचक सकारात्मक भए पनि अझै निजी क्षेत्रको मनोबल बढ्न नसकेको उल्लेख गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न सरकारलाई सुझाव दिए ।

ढकालले धेरै कर तिर्नेलाई सम्मान गर्नु सराहनीय भएको बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कर सप्ताह समापन समारोहमा अध्यक्ष ढकालले कर तिर्नेलाई गरिने सम्मानले सरकार र निजी क्षेत्रबीच सहकार्य बढ्ने बताएका हुन् ।

कोरोनाको समयमा अदालतले तत्काल राजस्व तिर्न नपर्ने भने पनि निजी क्षेत्रले कारको लक्ष्य भेट्न सहयोग गरेको ढकालले बताए ।

केही दिनअघि सरकारले आयोजना गरेको सर्वपक्षीय भेलामा अर्थमन्त्री र गभर्नरले प्रस्तुत गरेको तथ्यांकले सकारात्मक अवस्था देखिए पनि वास्तविकता त्यस्तो नरहेको टिप्पणी उनले गरे ।

साना व्यवसायबाट सुरु भएको समस्या बैंकसम्म पुगेको ढकालको भनाइ छ । ‘खराब कर्जा बढ्दा नाफा घटेको छ, साधारण खर्च बढेको छ, जसले गर्दा सरकारले पाउने राजस्व अझै घट्दै जाने अवस्था छ,’ उनले भने, ‘सरकार यसमा बेलैमा सचेत हुनुपर्छ ।’

अहिलेको अवस्थामा अर्थतन्त्रमा सुधार भइनसकेकााले पनि समस्या समाधान हुन अझै समय लाग्ने उनको भनाइ छ । करका विषयमा कानुनी र प्रक्रियागत तथा पूर्वाधारतर्फ समस्या रहेको ढकालले औंल्याए । उनले आयकर ऐन संशोधन आवश्यक भएको र भएका नीति कार्यान्वयन गर्न पनि आग्रह गरे ।

अहिले नेपालमा पर्यटक बढ्दै जाँदा पनि जनतामा विश्वास बढ्न नसक्नु समस्या भएको तर्क गरे । राष्ट्र बैंकले सिस्टम नबिगारी केही नीतिगत लचकता अपनाउन सके राम्रो हुने उनले बताए । ‘सरकार र राष्ट्र बैंकले प्रणालीमा समस्या नपर्ने गरी केही नीतिगत व्यवस्था गर्न जरुरी छ,’ अध्यक्ष ढकालले भने, ‘काम गरेको पैसा पाएनौं भन्ने गुनासो पनि सरकारले समाधान गर्नुपर्छ ।’

उनले ६ महिनापछि अग्रिम कर फिर्ता गर्नसमेत सरकारसँग आग्रह गरे । यसअघि, बैंक तथा वित्तीय संस्थाले सहजै कर्जा दिएको र त्यो पैसा घर, गाडी र जग्गामा मात्रै गएको भए पनि यसको गुण(दोष सबैको बराबरी हुने तर्क ढकालको छ ।

“विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटकको आवागमन अहिलेसम्मकै बढी भएको छ, तर पनि निजी क्षेत्रमा विश्वास बढ्न नसक्नु चुनौतीपूर्ण छ”, उनले भने , “निजी क्षेत्र र आम जनतालाई सरकारले विश्वास दिलाउनुपर्छ ।”

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले व्यवसायीलाई करको दायरामा ल्याउन सचेता बढाउनुपर्ने, व्यवसायीको आत्मबल बढाउनुपर्ने तथा स्थायी कर नीति हुनुपर्ने बताए ।

उनले कर नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले करको दर नभइ दायरा वृद्धि गर्नुपर्ने, कर नीतिको स्थायित्व हुनुपर्ने, पूँजीगत खर्च बढाउनुपर्ने तथा खर्च गर्ने वातावरण सिर्जना गरिनुपर्ने बताए । उनले अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय छलफल थाल्नुभएका आभार प्रकट गरे ।

नेपाल उद्योग व्यापार महासङ्घका साना तथा मझौला व्यवसायीलाई कर सचेतना र विभिन्न सुविधा दिइनुपर्ने बताए । सम्मानित सूर्य नेपाल प्रा.लिका उपाध्यक्ष रवि केसीले करदातालाई सम्मान गर्ने परिपाटीले धेरै व्यवसायीलाई हौसला प्रदान गरेको बताए । करको दरभन्दा पनि दायरा विस्तार गर्नुपर्न सरकारलाई सुझाव दिँदै उनले करदाता र लगानीकर्तालाई प्रोत्साहित गर्नुपर्ने बताए ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु