गृहपृष्ठ तस्करले दुई गैँडा मारेको घटना : छानबिन टोली चितवनमा
तस्करले दुई गैँडा मारेको घटना : छानबिन टोली चितवनमा
वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्य सम्मिलित टोलीले चितवन आएर स्थलगत रुपमा काम थालेको हो ।
उपमहानिर्देशक ढकालका अनुसार शनिबार घटनास्थलमा पुगेर सूक्ष्मरूपमा अध्ययन गरिएको छ । आज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलगायत सरोकारवालासँग छलफल गरिँदै छ ।
मध्यवर्तीको नियमित बैठक भएकाले बैठकमै पुगेर छलफल गरिने उनले जानकारी दिए । यसका अतिरिक्त अन्य सरोकारवाला निकायसँग छलफल अगाडि बढाइने उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृतसमेत रहेका ढकाललाई यहाँको वस्तुस्थितिबारे धेरै ज्ञान छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी गएको शुक्रबार समिति बनाएको थियो ।
समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत रहेका छन् ।
आवश्यक प्रमाण सङ्कलन गरी भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने उपमहानिर्देशक ढकालले बताए ।
राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एक सिङ्गे गैँडा तस्करले धराप (खाडल)मा पारेर मारेपछि छानबिन गर्न समिति बनाइएको हो । बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए ।
निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुईवटा पोथी गैँडा मरेको मरेको अवस्थामा फेला परेका थिए ।
प्रकाशित समय : ११:४८ बजे