गृहपृष्ठ देउसी–भैलोमा प्रशासनले समय तोक्नु कति जायज ? बालेन–प्रशासन मुडभेठले जन्माएको प्रश्न
देउसी–भैलोमा प्रशासनले समय तोक्नु कति जायज ? बालेन–प्रशासन मुडभेठले जन्माएको प्रश्न

तिहारमा लक्ष्मीको पूजा गरेपछि देउसी भैलो खेल्ने प्रचलन छ । जसका कारण तिहारलाई सांस्कृतिक पर्वको रुपमा पनि लिइन्छ । हरेक घरमा देउसी भैलो खेल्दै नाचगान गरिने भएकाले यो बालकदेखि वृद्धसम्मका लागि प्रतिक्षाको पर्व हो । बालबालिकादेखि वृद्धसम्म, सबै मिलेर रमाइलो गर्ने यो पर्व र यसको महिमा बेग्लै छ । तिहारमा यसरी खेलिने देउसी भैलोका लागि विगत केही वर्षदेखि भने स्थानीय प्रशासन तथा प्रहरी प्रशासनले समय निर्धारण गर्दै आएका छन् । तर यसपटक काठमाडौंमा भने देउसी भैलो खेल्नका लागि प्रशासनले कुनै पावन्दी लगाएनन् । बरु शान्ति सुरक्षाको व्यवस्था मजबुत रहेको भन्दै २४ सै घण्टा देउसी भैलो खेल्न सकिने जानकारी गरायो ।
सुरक्षाको कारण देखाउँदै अधिकांश जिल्लाहरुमा राति १० बजेसम्म मात्रै देउसी खेल्न पाइने सूचना जारी गरिएको छ । तर काठमाडौंमा भने राति १ बजेसम्म देउसी खेल्न पाइने र सुरक्षा व्यवस्थाका लागि महानगरको नगर प्रहरीले गस्ती गर्ने मेयर शाहले सूचित गरे । मेयर शाहको यो सूचनाले राति १० बजेपछि देउसी खेल्न नदिने मनस्थितिमा रहेको जिल्ला प्रशासन र प्रहरी प्रशासनमाथि नैतिक दबाब बढ्यो । सुरक्षा प्रबन्धको प्रमुख जिम्मेवारी पाएको प्रहरीमाथि नैतिक दबाब बढेपछि उसले २४ सैँ घण्टा देउसी खेल्न दिने घोषणा गर्यो ।
२०५२ सालमा तत्कालीन माओवादी सशस्त्र युद्ध सुरु भएदेखि नेपालीहरुले निर्धक्क भएर रातभर देउसी भैलोमा रमाउन पाएका थिएनन् । गएका वर्षहरुमा पनि नाईट क्लब तथा दोहोरी साँझ रातभर चल्न दिइएपनि देउसीभैंलो खेल्न भने राति १० बजेपछि रोक लगाइएको थियो । जसको तीव्र रुपमा आलोचना भएको थियो । यसबर्ष पनि प्रशासन कार्यालयहरुले समय तोक्न थालेपछि सरकार सुरक्षाको दायित्वबाट पन्छिएर देउसी भैलोलाई रोक लगाएको भन्दै आलोचना सुरु भएको थियो ।
गृह मन्त्रालयले पनि देउसी भैलो खेल्ने समय नै तोक्न नभनेपनि सुरक्षाको दृष्टिले प्रमुख जिल्ला अधिकारीहरुले देउसी भैलोको समय तोकेको हुन सक्ने बताएको छ । यही आलोचनाका बिच काठमाडौं प्रहरीले रातभर देउसी खेल्न भनेको हो । यद्यपि कुनै उच्छृङ्खल क्रियाकलापमा संलग्न रहेको पाईए प्रहरीले नियन्त्रणमा लिने जनाएको छ । यसका साथै जथाभावी पटाका पड्काउँदा आगलागी लगायत विभिन्न दुर्घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पनि प्रहरीले आग्रह गरेको छ । भीडभाड र आर्थिक गतिविधि हुने क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
पहिले–पहिले यमपञ्चकको पाँच दिनमध्ये पछिल्ला ३ दिन देउसी भैलो खेलिन्थ्यो तर अहिले तिहार सुरु हुनु अगावैदेखि पछिसम्म पनि देउसी भैलो खेल्न थालिएको छ । धेरै पैसा उठाउनलाई देउसी खेल्ने, जबर्जस्ती पैसा असुल्ने, देउसीकै नाममा विभिन्न अनैतिक, उच्छृङ्खल हर्कतहरु गर्नाले समाजमा विकृति भित्रिरहेको छ । यस्तो समयमा गाइने र बजाइने मौलिक गीत र बाजाहरु पनि हराउँदै गएका छन् । यद्यपि, संस्कार, संस्कृति जर्गेनाका लागि भइरहेका सकारात्मक कामको सम्मान गर्नुपर्छ । तसर्थ देउसी भैलोलाई भावी सन्ततीले पनि मौलिकता जोगाउन सक्ने गरी मनाउनु अहिलेको आवश्यकता हो ।
प्रकाशित समय : ०९:०० बजे