दुर्गा प्रसाईँलाई तह लगाउन सुपारी, ७० लाखको डिल कसरी भयो ?
वि.सं.२०८० असोज २८ आइतवार १६:३१
shares

झापामा गर्जिएर बोलेका महेश बस्नेतले एमालेसँग निउ खोज्नेलाई मच्छर मारेजस्तो प्याट्ट पारिदिने बताए । अझ केपी बाको जिल्लामा निउ खोज्नेलाई सिध्याईदिने बताए । दुर्गा प्रसाईँलाई कालो दलेको अपार सफलतापछि हौसिएर झापा हानिएका महेशले जोरी खोज्नेलाई मच्छर मारे जसरी ठेगान लगाउने आशयको अभिव्यक्ति दिए ।
तर यतिबेलासम्म महेश बस्नेतको सात्तो ठाउँमा थिएन । मञ्चमा ४ जना पाखुरेहरुलाई दायाँ–बाँया राखेर बडो सुरक्षाका साथ बोलेका उनले ढाडस दिएर भन्दै थिए, महेश बस्नेत उभिएको मञ्चमा सर्तक भएर होइन, ढुक्क भएर बस्नुस् । तथापी उनका अभिव्यक्तिमा डर झल्किरहेको थियो ।
सम्भवतः आफुमाथि अट्याक हुँदैछ भन्ने सुईको पाएपछि बस्नेत आफैँ सर्तक भएका थिए । नत्र मञ्चमै गार्ड राखेर भाषण गर्नुपर्ने दिन आउने थिएन । नभन्दै बस्नेतले सोचेकै अनिष्ट निम्तियो । काठमाडौंको कान्तिपथमा कालोमोसो खाएको बद्ला प्रसाईँले झापामा त्यो पनि बस्नेतकै मञ्चअघि पुगेर लिए । अर्थात्, मञ्चमा महेश जंगिने क्रम रोकिएको थिएन, आफैले आफुलाई सिंह करार गर्ने स्वःघोषणा रोकिएको थिएन । बाहिर बस्नेतसहितका दर्जन गाडी प्रसाईँका कार्यकर्ताहरुले चकनाचुर बनाइदिए । अर्थात् बस्नेतकै युवा दस्ताको अघि पुगेर प्रसाईँ पक्षले तोडफोड गरिदियो ।
यसले फेरि आफ्नो इलाकामा सबै शेर हुन्छ भन्ने पुष्टि गर्यो । अर्थात् काठमाडौंमा बस्नेतले सुरु गरेको ब्याटल झापामा बद्ला स्वरुप चल्यो । रोकिन्छ कि भन्ने अनुमान चलिरहेका बेला फेरि शुक्रबार बिहान महेश बस्नेतका युवाहरुले भक्तपुरमा प्रसाईँको घर घेराउ गरेका छन् ।उनीहरुले झापामा बस्नेतमाथि आक्रमण भएको भन्दै प्रसाईँको घर फुटाईदिने धम्की दिएका छन् । अहिले दुवै पक्ष आक्रामक बनेका छन् । एकले अर्काेलाई सिध्याईदिने धम्की दिइरहेका छन् । तर सरकार यी दुवै अराजक तत्वहरुलाई तह लगाउनुको साटो मौन समर्थन दिइरहेको छ । सम्भवतः गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि ब्याटल हेर्न मज्जा आइरहेको हुनुपर्छ । तर यी दुवैका कारण सर्वसाधारण जनताले अनाहकमा दुख पाइरहेका छन् ।
अहिले ऋण मिनाहाको एजेण्डा बोकेपछि प्रसाईँलाई बैंक तथा वित्तिय संस्थाले दुःख दिएका आम सर्वसाधारणले साथ दिइरहेका छन् । बस्नेतका पछि पनि कति राजनीतिक भित्रको कालोधन्दा नबुझेका युवाहरुले रगत उमालिरहेका छन् । दुई अराजकको स्वार्थको द्वन्द्वमा भोलि निर्दाेष मारिने अवस्था आउन सक्छ । किनकि मुख्य लडाइँ मारवाडी र प्रसाईँबीचको हो ।
विशेष स्रोतले दिएको सूचना अनुसार कालोमोसो पनि प्रयोजित थियो । अर्थात् मारवाडी समुदायका केही व्यापारीहरुले प्रसाईँलाई तह लगाउनका लागि पहिला एउटा नाम चलेकै गुण्डा नाईकेको समूहलाई ७० लाखको अफर गरेका थिए । त्यो समूहले अस्वीकार गरेपछि प्रसाईँलाई कालोमासो दल्ने जिम्मा खोटाङका एमाले नेता दिपेन्द्र राईले लिए । तर उनले यो काम गरे वापत कति पैसा लिए त्यो खुलेको छैन । लगत्तै कालोमोसोको अपनत्व महेश बस्नेतले उठाएपछि अहिले मुठभेडकै अवस्था बनेको छ । झण्डै पचास लाखको चलखेलमा यो अराजकता मच्चाइएको बुझिन्छ । यद्यपी यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । तर यसलाई प्रसाईँ स्वयमले भने पुष्टि गरेका छन् । उनले हामीसँगको कुराकानीमा भनेका छन्, ‘केही विरोधीहरु पैसा पेलेरै मेरा विरुद्ध लागिपरेका छन् ।’ प्रसाईँले भने, ‘पहिले उनीहरुले एउटा नाम चलेकै समूहलाई सुपारी दिन गएका रहेछन् । त्यसले नमानेपछि पवन गोल्यानसहितका मारवाडीहरुले युवा संघलाई पैसा दिएर काम गर्न लगाए ।’
प्रसाईँलाई कालोमोसो दल्न पैसा बुझेको तथ्य बाहिर आउँदा प्रसाईँले पनि महेश बस्नेतका गाडी फोड्न कति पैसा खर्च गरे भन्ने अर्काे प्रश्न आउँछ । किनकि प्रसाईँकै नेतृत्वमा झापामा एमाले नेता कार्यकर्ताका गाडी तोडफोड भएका छन् । तर दुवै पक्षले आफ्नो हानी हुँदा पनि एकअर्काविरुद्ध कानुनी उपचार खोजेका छैनन् । न प्रसाईँले कालोमोसो दलि अपमान गरेको विषयमा उजुरी दिए, न महेशले गाडी तोडफोड हुँदा मुद्दा हाले । किनकि यी दुवै तत्व अहिले कानुनभन्दा माथि उठेर एकअर्काविरुद्ध साम, दाम दण्डभेद् प्रयोग गरि बद्लाको नीतिमा चलिरहेका छन् ।

























