गृहपृष्ठ कोशीमा बजेट शून्यता अन्त्यका लागि अध्यादेशबाट बजेट ल्याउँदै

कोशीमा बजेट शून्यता अन्त्यका लागि अध्यादेशबाट बजेट ल्याउँदै

कोशीमा बजेट शून्यता अन्त्यका लागि अध्यादेशबाट बजेट ल्याउँदै

कोशीमा जारी बजेट शून्यता अन्त्यका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अर्को बजेट सम्बन्धी अध्यादेश ल्याउने भएको छ ।

सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएको कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेट सम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । चालू आवको स्रोतगत र आर्थिक व्ययको विवरण, कार्यक्रमगत बजेट विनियोजन सार्वजनिक गर्ने र पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री मेन्याङ्बोको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको छ ।

यसअघि कार्की नेतृत्वको सरकारले जेठ ३२ गते चालू आर्थिक वर्षका लागि बजेट सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक निवर्तमान मुख्यमन्त्री उद्धव थापाले ल्याउन नसकेपछि भदौ ११ गतेदेखि प्रदेश बजेट शून्यतामा गएको हो । यसअघि ल्याएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको त्यस्तै ल्याउने तयारी गरिएको मन्त्री मेन्याङ्बोले बताए । उनले शनिबार नै प्रदेश प्रमुखसमक्ष अध्यादेश जारीका लागि सिफारिस गर्ने तयारी रहेको तर तयारी नपुगे आइतबार सिफारिस गरेपछि जारी हुने बताए ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा २०२ बमोजिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न बनेको अध्यादेश-२०८०, आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश-२०८० जारीका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने तयारी गरेका हुन् ।संविधानको धारा २०२ को उपधारा (१) मा प्रदेशसभा चलिरहेको अवस्थामाबाहेक प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले अध्यादेशबाट अर्को बजेट ल्याएका छन् ।

अध्यादेश जारी भएपछि प्रदेशसभा बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक सरकारले ल्याउन नसके संवत्ः निष्क्रिय हुने संविधानको धारा २०२ को उपधारा (२) को (१) (ग)मा व्यवस्था छ । मुख्यमन्त्री कार्कीले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०–८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको वार्षिक आयव्यय अनुमान उल्लेखित बजेट सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँको बजेट अनुमान छ ।

 

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु