गृहपृष्ठ ‘चुकेका बालेन’
‘चुकेका बालेन’

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुक एकाउन्ट ‘बालेन’बाट शनिबार राति एक स्टाटस सार्वजनिक गरे । झण्डै १७ लाख फलोअर्स भएको फेसबुक एकाउन्टबाट सार्वजनिक उक्त स्टाटसले एकैछिनमा सामाजिक सञ्जालभर आगो लगाउने काम गर्यो । किनकि स्टाटसमा लेखिएको ‘सिंहदरबारमा आगो लगाईदिन्छु’।
आधिकारिक रुपमा फेसबुकले भेरिफाइड गरेको यो एकाउन्टबाट ९ बजेर २१ मिनेटमा स्टाटस सार्वजनिक गरिएको थियो । स्टाटस यस्तो थियो । ‘आजको लागि केही भएन भोलिबाट हाम्रो महानरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाईदिन्छु । याद राख चोर सरकार ।’
अहिले यो स्टाटस धुलिपताल गरेर खोजेपनि भेटिँदैन । किनकि बालेनले उक्त स्टाटस हटाएका छन् । क्रिकेट हेर्न श्रीलंका पुगेका मेयर शाहले नेपालमा बसेर लेखेको स्टाटसलाई विदेश पुगेर उडाई दिएका हुन् । अर्थात रातारात फेसबुकबाटै सरकारको झाँको झार्ने कोशिस गरेका उनले हिसाव राफसाफ भएको शैलीमा स्टाटस हटाएर रफादफा गर्ने काम गरेका छन् । तर मेयरले आफ्नो निजी एकाउन्ट स्टाटस हटाएपनि सामाजिक सञ्जालमा दनदनी सल्किएको डढेलो अझै निभेको छैन । बरु उनले पोस्ट नै डिलिट गरेपछि संशय पैदा भएको छ, मेयर यो मामिलामा चुकेका छन् ।
सडकमा ट्राफिक प्रहरीले श्रीमती सवार गाडी रोकेको विषयमा खनिएका बालेनले सिंहदरबार नै जलाउने धम्की दिएपछि यसमा कसको गल्ती थियो भन्ने बहस उग्र बिन्दुमा छ । शनिवार अबेर राति बालेनले स्टास्टस् लेखेपछि आइतबार उनको सचिवालयले ट्राफिक प्रहरीमाथि दोष लगाउँदै विज्ञप्ती जारी गर्यो ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेकोदेखि गुट्खाजस्ता सुर्तीजन्य पदार्थ खाएर चेक गरेको आरोपसमेत विज्ञप्तीमा उल्लेख छ । मेयरको सचिवालयले मेयर पत्नी सविना काफ्ले आफ्नो स्वास्थ्य परिक्षण र एनआइशियुमा रहेकी आफ्नी शिशुलाई स्तनपान गराएर फर्किदा ट्राफिक प्रहरीले मानवीयता भुलेर ७ मिनेट सडक किनारमा रोकि असान्दर्भिक र मनोमानी प्रश्न गरेको दाबी गरेको छ ।
यद्यपी ट्राफिक प्रहरीले भने त्यसलाई नियमित चेक जाँचको प्रक्रिया भनेको छ । ट्राफिक प्रहरीले मिनेटमा नभएर सेकेन्डमा गाडी रोकिएको दाबी गरेको छ । तर यतिका विषय सहतमा आएर मेयरले मुलुकको प्रमुख प्रशासनिक अड्डा सिंहदरबारमा आगो लगाईदिन्छु भनिसक्दासमेत जनतालाई प्रस्ट्याउन सकेको छैन । मिनेट नभएर केही सेकेन्डमात्रै गाडी रोकेको दाबी गर्ने ट्राफिक प्रहरीले किन सीसीटीभी फुटेज सार्वजनिक गर्दैन ? कि ट्राफिक प्रहरी यसमा चुकेका छन् र आफुमाथिको हिलो पखाल्ने मौकालाई सदुपयोग सकिरहेका छैनन् भन्ने प्रश्न उठेको छ । शनिवार रातिको फुटेज सार्वजनिक गर्ने हो भने दुधको दुध पानीको पानी क्षण मिनेटमा छुटिन्छ । तर ट्राफिक प्रहरीले त्यो पनि चाहेको छैन । ‘यसको वास्तविकता प्रस्टाउनुपर्छ ।’, पूर्वडीआईजी हेमन्त मल्लले भने, ‘आरोप प्रत्यारोप सार्वजनिक भइसकेपछि वास्तविकता बाहिर ल्याउनु ट्राफिकको दायित्व बन्छ ।’
अहिले त्यो दिन चेकजाँचमा खटेका ट्राफिकको परिवार सकसमा परेको छ । प्रहरी नायव निरीक्षक (सई) सुशिल न्यौपानेकी आमा मेयर शाहकै घरमा पुगेर छोरोको चरित्रहत्या नगर्न गरेको अनुरोधले पनि उनीहरुको परिवारमा के वितेको छ भन्ने अड्कल काट्न मुस्किल छैन । तर यो विषयमा माथिको आदेशभन्दै ट्राफिक प्रहरीका प्रवक्ता पनि अहिले बोल्न मानिरहेका छैनन् ।
ट्राफिक प्रहरीका अनुसार बालेन पत्नी सविना सवार सरकारी गाडी ८ बजेर ४९ मिनेटमा कोटेश्वरमा आइपुगेको थियो । ट्राफिक प्रहरीले सेतो नम्बर प्लेट देखेपछि गाडीलाई रोकेर कागजात र शनिबार चलाउनका लागि प्रशासनबाट लिइएको पास माग गरे । तर चालकले शनिबार सवारीसाधन चलाए पनि पास घरमै छुटेको र गाडी काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको भएको बताएका थिए । उक्त सवारीसाधन शनिबार साँझ ८ बजेर ५१ मिनेट २ सेकेन्ड जाँदा त्यहाँबाट गएको सीसीटिभी फुटेजमा देखिन्छ । तर त्यसलाई बाहिर ल्याउन प्रहरी तयार छैन । अर्थात्, ट्राफिक लाइट, कोटेश्वर चोकको सवारी जाम र ट्राफिक चेकिङ गरी मात्र २ मिनेट २ सेकेन्ड उक्त गाडी रोकिएको छ । ट्राफिक चेकिङका लागि उक्त सवारीसाधन करिब ४० सेकेन्डमात्रै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
४० सेकेन्ड श्रीमती सडकमा रोकिएकै विषयमै मेयर शाहको यो रडाको हो भने कानुनभन्दा माथिका मेयर पनि छैनन् । सुत्केरी अवस्थामा आइरहेकीm मेयर पत्नीलाई जानकारी गराउँदा पनि प्रहरीले अनावश्यक दुःख दिएको हो भने त्यो पनि सही होइन । अहिले झट्ट हेर्दा ट्राफिक प्रहरीले फुटेज नदेखाउने अनि मेयरले स्टाटस हटाउने काम गरेपछि सहमतिमै सामाजिक सञ्जालको आगोमा पानी खन्याएर निभाउने जुक्ति खोजिएको अुनमान लगाउन सकिन्छ ।
मेयर शाहले घट्ना लगत्तै गृहमन्त्रीको सचिवालय र काठमाडौंका सीडीओलाई समेत फोन गरेको बुझिएको छ । नियमित ट्राफिक चेकिङको विषयलाई ठूलो नबनाउन उनीहरुले आग्रह गरेपछि मेयर झनै आक्रोशित भएर सामाजिक सञ्जालमा पोखिएका थिए । मेयर शाह समूहबाट लगातार वक्तव्यबाजी गर्दै घट्नालाई तोडमोड गर्ने काम भएपछि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत विज्ञप्ति निकालेर सचेत बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउन हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’
ट्राफिकको रवैयामाथि पनि प्रश्न?
सवारी चलाउने आमजनलाई थाहा छ, हाम्रा ट्राफिक प्रहरीको व्यवहार कस्तो हुन्छ र कतिसम्मको रुखो बोल्न सक्छन् । मानौं सडकको राजा नै उनीहरु हुन् । आम नागरिकलाई आँखा तिखो बनाएर हेर्ने ट्राफिकका अघि जोकोहीलाई सानो स्वरमा बोल्नुबाहेकको विकल्प हुँदैन । नत्र ‘यही रोकिदिन्छु, सवारी खोसिदिन्छु, चिट काटिदिन्छु’ भन्ने जस्ता बोली आमजनले भोगेको यथार्त हो । गल्ती गरेकै छ भने मिठो बोलेर पनि चिट काट्न सकिन्छ । सायद काठमाडौं महानगरका मेयर बालेन शाहकी पत्नीले यही तितो अनुभव लिएकी पनि हुनसक्छिन् । नत्र सार्वजनिक ओहदामा भएको व्यक्ति यो तहमा उत्रिएर सरकारमाथि धावा बोल्नु पूर्व कमसेकम सय पटक सोच्नुपर्छ । सुत्केरी पत्नी चढेको गाडी रोकेर केरकार गरेपछि मेयर बालेन शाहले सिंहदरबार आगो लगाईदिने अभिव्यक्ति सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जालमा आगो दन्किएको छ । प्रशासन र महानगरबीच विज्ञप्ती वार चलेको छ । को झुटो बोल्दैछ भन्ने पत्तो नपाएका समर्थकहरु एकआपसमै भिडिरहेका छन् । ठिक यसैबेला मेयर शाहले कमजोरी आफैबाट भएको थियो भन्ने स्वीकारको शैलीमा ‘सिंहदरबार आगो लगाईदिन्छु’ भन्ने अभिव्यक्ति नै हटाएपछि उनी चुकेको प्रस्टै भएको छ ।
किनकि यसलाई आत्मआलोचित वा कमजोरी स्वीकारेको अर्थमा बुझ्न सकिन्छ । कारण जेसुकै होस्, लाखौं जनताले पत्याएका बालेनको मुखबाट सुहाउने शब्द निस्किएको थिएन । भलै उनी एउटा श्रीमानको रुपमा बोलेका थिए, भलै उनी भर्खरै संसार देख्न पाएकी एक छोरीको पिताको हैसियतले बोलेका थिए । तर त्योभन्दा पहिले उनी नगरको पिता पनि हुन् । बालेन बोल्नु भनेको महानगर बोल्नु हो । बालेन बोल्नु भनेको उनलाई समर्थन दिएका करोड बढी जनता बोल्नु हो । यस्ता अभिव्यक्ति दिनुअघि बालेनले आफ्नो हैसियत र जिम्मेवारीलाई सम्झिनुपर्छ । तर केही केही उनका अभिव्यक्ति उरन्ठेउले पारामा सार्वजनिक भइरहेका छन् ।
सिंहदरबारसँग बालेनलाई सधैं एलर्जी छ । तथापी सिंहदरबारसँग भिड्ने उनीमात्रै एक्ला पात्र होइनन् । सिंहदरबारले गर्ने हरेक गलत कार्यमा झण्डै तीन करोड नेपाली विगतदेखि नै भिडिरहेका छन् । सिंहदरबारलाई आगो लगाउनै पर्दैन । आज पनि शक्तिका पुजारीहरुले हरेक दिन सिंहदरबारमा आगो झोसिरहेका छन् । सिंहदरबारको अस्तित्वलाई खरानी बनाइरहेका छन् । हिजोआज सिंहदरबार हरेक दिन नेपालीहरुको सपनाको मलामी बनिरहेको छ । सिंहदरबार भ्रष्टाचार, कुशासन, वेथिती र कुनियतको अखडा जस्तो बन्न थालेको छ । ठूला ठूला सेटिङहरु यही हुन्छन् । घुम्ने मेचमाथि बस्ने कालो मन भएका सेता मान्छेहरुले देश डुबाउने सेटिङ यही गर्छन् । तसर्थ बालेनहरुले यसलाई जलाउने होइन, बरु सिंहदरबारभित्र बसेर हरेक नेपालीको सपना जलाइरहेकाहरुलाई वैधानिक बाटोबाट थुतेर सिंहदरबारलाई सुशासनले सजाउने हो । तर उनीहरु नै सुशासनमा चुकेपछि जनमतको हुनेछ । १२० बर्षदेखि मुलुकको प्रमुख प्रशासनिक केन्द्र बनेको सिंहदरबारको गरिमा र सर्वोच्चता कायम राख्ने जिम्मा बालेनहरुलाई दिन जनताले विकल्पका रुपमा चुनेका छन् । यो हरेक नेपालीको श्रम र पसिनाबाट बनेको हो । जहाँ बालेनजस्ता योद्धाहरुलाई हरेक नेपाली साथ दिन तयार छन् । तर उनीहरु चुक्नु भएन । आफुले पाएको अथाह समर्थनलाई सही बाटोमा प्रयोग गर्ने हो । तबमात्रै बालेनहरु आफु पनि सफल बन्नेछन् र नेपालीहरुको सपना पनि साकार बन्नेछ ।
प्रकाशित समय : ०९:०० बजे