मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार
वि.सं.२०८० साउन ३२ बिहीवार १३:४१
shares

देवदह नगरपालिका–१२ ढोलबजवा बस्छन् शिव बिन्दु भुज । उमेरले करिब ६० काट्नुभएका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उहाँले पसलबाट केही खरिद गर्न पाउदैनन्। गाउँमा उर्दी जारी भएको छ “भुजको परिवारलाई केही नदिनु, कोही नबोल्नु ।”
शिवबिन्दुसँग बोल्ने गाउँलेलाई २५ हजार जरिवानासमेत तोकिएको छ । गाउँमा समान खरिद गर्न नपाएपछि उनी सलाई खरिद गर्नुपरे पनि नजिकैको बजार मझौली पुग्नुपर्छ । बालापनका साथीहरुबाट अहिले अछुतको झैँ व्यवहार सहनु परेको छ । उनी अरुको घर जान पाउनु हुँदैन, अरु उनको घर आउँदैनन् ।
सामाजिक बहिष्करणमा परेका शिवबिन्दुको दोष भनेको उनका भाइ पशुपति भुजले मुद्दा जित्नु हो । काठ्माडौँ बस्ने पशुपतिले सार्वजनिक जग्गा कब्जा गरी बसेका गाउँलेहरुबिरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालत र उच्च अदालतबाट मुद्दा जितेपछि उहाँका दाजु सामाजिक बहिष्करणमा परेका हुन् । पशुपति पनि गाउँ छोडेर काठमाडौँ बस्नु परेको छ ।
देवदह नगरपालिका–१२ ढोलबजवामा रहेको करिब तीन बिगाहा आठ कठ्ठा १२ धुर सार्वजनिक जग्गा गाउँलेहरुले दामासाहीले बाँडेका थिए । आठ नम्बर पर्तिको रुपमा रहेको सार्वजनिक जग्गा गौचरणको साथै मरेका घरपालुवाहरु फाल्ने स्थलको रुपमा रहेको थियो । ढोलबजवा गाउँभन्दा उत्तरतर्फको उक्त जग्गामा गाँउलेले कब्जा गरेपछि पशुपतिले रुपन्देही जिल्ला अदालतमा २७ जना गाउँलेविरुद्ध “सार्वजनिक जग्गा चलन चलाई पाउँ” भन्दै मुद्दा दर्ता गरे । सोहीअनुसार २०७७ माघ २९ गते जिल्ला अदालतले भुजको पक्षमा फैसला गर्दै सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको थियो । यसमा गाउँलेहरुले चित्त बुझाएनन् र पुनरावेदन गरे । पुनरावेदनमा पनि उच्च अदालत तुलसीपुर बुटवल इजलाशले २०७९ कात्तिक २८ गते जिल्लाकै फैसलालाई सदर गरिदियो ।
फैसला गर्दै उच्च अदालतले चलन चलाई सार्वजनिक रुपमा रहेको सो जग्गामा रहेको संरचनाहरु हटाउन आदेश दियो । अदालतले दिएको सोही आदेश अहिले पशुपति भुजको परिवारलाई “सामाजिक बहिष्करण” को कारण बनेको छ । आदेशकै कारण उनी गाउँमा जान सकेका छैनन् भने उनको परिवारलाई गाउँलेले बहिष्कार गरेका छन् । “वडा कार्यालयमा चारकिल्ला लिन गएको थिएँ, मलाई कुटपिटको प्रयास गरियो,” भुजले भने “सार्वजनिक जग्गा संरक्षण त स्थानीय तहले नै गर्नुपर्ने हो तर उहाँहरु त अतिक्रमण गर्नेहरुको पक्षमा हुनुहुन्छ ।”

























