मनसुनजन्य जोखिमबाट २ महिनामा ३० करोड भन्दा बढी क्षति, के गर्दैछ विपद् व्यवस्थापन प्राधिकरण ?
वि.सं.२०८० साउन ३१ बुधवार १६:२२
shares

मनसुन सुरु भए यता अर्थात २ महिनाको अवधिमा मनसुनजन्य जोखिमबाट ३० करोड भन्दा बढीको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ गते देखि साउन ३१ गते सम्ममा ३० करोड २४ लाख रुपैयाँ बराबारको अनुमानित क्षति भएको छ ।
उक्त अवधिमा ६१ जनाको मृत्यु भएको छ भने २९ जना अझै बेपत्ता भएको विपद प्राधिकरणका उपसचिव ध्रुव बहादुर खड्काले जानकारी दिएका छन् । उनका अनुसार मनसुनजन्य घटना ७१७ वटा घटेका छन् भने उक्त घटनाबाट ७४ जिल्ला प्रभावित भएका छन् ।
विपद् प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार बुधबार १० बजे सम्म १०३ जना घाईते भएका छन् । ५ हजार ८२८ घरपरिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । उक्त घटनाबाट १९२ पूर्ण रुपमा र ४५१ आंशिक रुपमा घर क्षति भएको छ ।
बाढी, पहिरोबाट २७ राजमार्गको २०१ स्थानमा सडक अबरुद्ध भएको छ । जसबाट ४० करोड बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
उक्त अबधिमा १२ वटा पक्कि पुल र २२ वटा झोलुङ्गे पुल गरी १२ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले दिएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै संघीय खानेपानीका २८ वटा आयोजना प्रभावित हुँदा ९ करोडको क्षति भएको देखिएको छ ।
के गर्दै छ विपद् व्यवस्थापन प्राधिकरण ?
प्राधिकरणले मनसुनको लागि आपत विपद् पर्दा जनशक्ति तयार गर्न हिउँदभरि जनशक्ति तयार गर्न सहयोग गरेको विपद् प्राधिकारणका उप सचिव खड्का बताउँछन् । ‘गत वर्ष विपद्सँग सम्बन्धित तालिम प्राप्त जनशक्ति १४ सय थियो’, उनले भने, ‘यो वर्ष ११ हजार ६७० जनाको हाराहारीमा छन् ।’
उक्त जनशक्ति प्राधिकरणले तालिम दिएर तयार गरेको खड्का बताउँछन् । उक्त जनशक्ति मध्ये पानी गहिराईमा गएर उद्धार गर्ने सक्ने (नारायणीमा गाडी फस्यो त्यहाँ भित्र गएर उद्धार गर्ने सक्ने जनशक्ति) ७२ जना उत्पादन गरिएको प्राधिकरणको भनाई छ । ‘विगतको वर्षमा त्यस्ता जनशक्ति हामीले बंगलादेशबाट ल्याउने गरेका थियौँ’, उनले भने, ‘एक वर्षमा आफैले उत्पादन गरेका छौँ ।’
उद्धारको लागि चाँहिने यन्त्र उपकरण पनि नमुनाको रुपमा उपलब्ध गराएको प्राधिकरणको भनाई छ । उद्धार गर्ने जाने जनशक्तिलाई आवश्यक अनुसार न्यूनतम उपकरणहरु दिने गरिएको खड्काको भनाई छ ।
एक पटकमा ६ जना विरामी सुताउन मिल्ने र ४ जना बसाएर अस्पतालसम्म पुर्याउने ८ वटा सवारी साधन ल्याएको प्राधिकरणको भनाई छ । ‘त्यो साधनमा २ जना चिकित्सक, सिसि क्यामरा जडान, भ्यान्टिलेटरको व्यवस्था गरिएको छ’, खड्काले भने, ‘उक्त चिकित्सकलाई विर अस्पतालका विशेशज्ञ डाक्टरहरुले विरामीलाई यसो गर्नुस् उसो गर्नु भन्दै मनिटरीङ गरे उपचार गर्दै गर्दै अस्पतालसम्म लग्न सकिन्छ ।’
त्यो प्रविधि युक्त एम्बुलेन्स ७ वटा प्रदेशमा एक एक वटा र उपत्यकामा एउटा रहेको खड्का बताउँछन् । उक्त एम्बुलेन्स सशस्त्र प्रहरी बलले सञ्चालन गर्ने गरि व्यवस्था मिलाईएको प्राधिकरणको भनाई छ ।
विगतमा बढी पहिरो गईरहने ३४ ठाउँमा स्मार्ट साईरहन जडान गरिएको खड्का बताउँछन् । ‘विगतका वर्षहरुमा हामीले मान्छे लगाएर बाढी आउँदैछ तपाईहरु सुरक्षित स्थानमा जानुहोस् भनेर भन्ने गरेका थियौँ, एसमेस पठाउथ्यौँ, हातले बताउथ्यौँ प्वा प्वा गरेर’, खड्काले भने, ‘तर यो वर्षबाट २ किलोमिटर पर सम्म सिंहदरबारबाट बजाउन मिल्ने खालको साइरन जनान गरिएको छ ।’
उक्त साईरन एउटा धुन मात्र दिने नभई रेडियो जसरी सूचना दिने खड्का बताउँछन् । त्यस्तो सुचना नेपाली भाषामा वा प्रभावित क्षेत्रका व्यक्तिले बुझ्नो भाषामा भन्ने गरिएको उनको भनाई छ । ‘त्यस्ता सूचना यहि सिंहदरबारबाट भने पनि हुन्छ’, खड्काले भने, ‘त्यहाँका स्थानीय तहबाट वा प्रदेशबाट भने पनि हुन्छ ।’
विगतका वर्षमा राहत दिनको लागि कस्लाई दिने ? के दिने ? कसरी दिने ? जस्ता कुराको निर्णय गर्नु पर्ने गरेको खड्काको भनाई छ । यो वर्षबाट राहत दिनको लागि मापदण्ड पहिले निर्धारण गरिएको उनको भनाई छ । ‘कस्लाई ? के भयो भने कतिखेर ? कति रकम सम्म दिने ? मापदण्डा पूर्ण रुपमा बनाईएको छ’, खड्काले न्युज कारोबारसँग भने, ‘त्यसरी दिनु पर्ने देखिएमा प्रमुख जिल्ला अधिकारीले दिने गरिएको छ ।’
राहत दिँदा रकम घट्न आएमा सिडियोले लेखेर प्राधिकरणमा पठाउसाथ थप रकम उपलब्ध गराउने गरिएको प्राधिकरणको भनाई छ ।
कसरी घटाउने बाढी–डुबानको जोखिम ?
होचो ठाउँ वा नदी किनारमा घर–गोठ नबनाउने ।
होचो ठाउँमा घर बनाउनै परे घडेरी पुरेर उच्च बनाएर बनाउने ।
डुबानको जोखिम भएको ठाउँमा सकेसम्म टाँडे घर बनाउने ।
स्थान हेरी कम्मरसम्म डीपीसी आउने गरि घर बनाउने ।
घरछेउका खोला–नदीमा बेलैमा तटबन्ध गर्ने ।
खोला नदीमा स्पर÷ठोकरहरु बनाउने ।
पूर्व तयारी के गर्ने ?
वर्ष र बाढीको अबस्थाबारे टोल फ्रि नम्बर ११५५ वा रेडियो, टिभी र अनलाईन पोर्टलहरुमा नियमित जानकारी लिने ।
वर्षायाममा सधैँ मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्रीको चार्ज राख्ने । यदि विपतमा परिहाले उद्धार गर्ने सकिन्छ ।
अन्न, दाल, नूनतेल र साबुन जस्ता अत्यावश्यक सामाग्री घरको सबैभन्दा अग्लो ठाउँमा राख्ने ।
नागरिकता, लालपुर्जा, लाईसेन्स जस्ता काजपत्र, नगद, गरगहना र औषधिजस्ता महत्वपूर्ण सामान प्लास्टिकले राम्ररी बेरेर अग्लो ठाउँमा राख्ने ।
प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा राख्ने । याद नै गरेर राखे अझ राम्रो ।
आफ्नो घरबाट अग्लो ठाउको बारेमा जानकारी राख्ने ।
टर्च, डोरी, सिठ्ठी, लौरोजस्ता सामन सजिलै भेटिने ठाउँमा राख्ने ।
नदीमा बढेको पानी, तटबन्ध र ड्यामको अबस्थाबारे जानकारी राख्ने ।
बाढी आईहाले के गर्ने ?
नआत्तिने, तर जतिसक्दो चाँडो अग्लो र सुरक्षित ठाउँमा जाने ।
सातु, भुटेको अन्न, चिनी, चिउराजस्ता तयारी खानेकाुरा साथमा लैजाने ।
बादबापदका, गर्भवती, वृद्धवृद्धा, विरामी, अपाङ्गता भएका व्यक्ति र महिलालाई सबैभन्दा पहिले सुरक्षित ठाउँमा पुराउने ।
घरको हरेक सामान जोगाउन खोज्नुको सट्टा सबैभन्दा पहिले महत्वपूर्ण कागजात,
नगद र औषधि राखिएको झोला सुरक्षित ठाउँमा लैजाने ।
तल्लो तटमा बस्ने मानिसलाई पनि बाढीको सूचना दिने ।
प्रहरी, सुरक्षा निकाय र प्रशासनमा खबर गर्ने ।
अचानक बाढी आउछ भनेर कसरी थाहा पाउने ?
पहाडका खोला नदीमा कहिलेकाहीँ पानी नपरेको बेला पनि अचानक बाढी आउँछ । परिरोले खोला नदी थनिएर एकै चोटि फुट्दा वा नदीनालाको शिरमा ठूलो पानी पर्दा यस्तो बाढी आउँछ ।
तर, यसरी अचानक आउने बाढीले पनि पहिल्यै केही संकेत दिएको हुन्छ । जस्तोः खोला नदीमा पानीको बहाव स्वाट्टै घट्नु, वर्ष नहुँदा पनि खोला नदीमा धमिलो, लेदो मिसिएको पानी बग्ने गर्छ ।
यदि त्यस्तो संकेत देखिने वित्तिकै खोला नदीका किनारबाट सकेसम्म टाढै बस्नुपर्छ ।

























