काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन

5.92K
shares

विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ । असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ ।

गत असार अन्तिम साता कालोपत्र गरिएको उक्त सडकमा अहिले नै समस्या देखिएको स्थानीयवासी टेकबहादुर तामाङले गुनासो गरे । आर्थिक वर्ष २०७५÷७६ मा सक्ने गरी २०७२ मा ठेक्का भएको सात किमी सडक असार अन्तिम साता मुख्य भागमा कालोपत्र सकिएको थियो । सडकको दायाँबायाँ भागमा भने अझै काम बाँकी नै छ । कति ठाउँमा ढल बनाउनका लागि ठूला खाल्डा यत्तिक्कै छोडिएको छ । जहाँ पैदलयात्रु र सवारीसाधन पर्न सक्ने जोखिम छ ।

यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन । ठेक्का भएको केही वर्षसम्म सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुनसकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो । गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा भएको सहमतिको वषौँ बित्दासमेत अझै काम पूरा हुनसकेको छैन । यो सहमति अनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौँदेखि यात्रु पीडित छन् । धेरैजसो सडकको काम सकिएको छ । वर्षा हुन थालेपछि हिलो सबैतिर पुग्न थालेको छ । केही ठाउँमा अझै ढलको काम भइरहेको छ ।

नगरपालिकाले केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने सहमति गरेको चार वर्षसम्म पनि सडकको काम सकिएको छैन । समय बढाएर आर्थिक वर्ष २०७६÷७७ मा सक्ने सहमति पनि कार्यान्वयन भएन । त्यसपछि पनि पटकपटक समय थप गर्दा पनि काम नसकिएको हो । आयोजनाका सूचना अधिकारीसमेत रहेका इञ्जीनीयर महानन्द जोशी भने गत असारमा काम सकिएको दाबी गर्छन् ।

मर्मतको काम बाँकी रहेको उनले सनाए । “नयाँपाटी पुलमाथिको भागमा गत असारमा पानी परेका दिनमा कालोपत्र गरिएकाले भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो, यहाँ पनि छिटो मर्मत गर्न लगाउँछौँ”, उनले भने । ५८ करोड लागतमा भएको काममा बेला बखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेको नगरपालिकाले जनाएको छ । सङ्घीय सरकारको ठेक्का भएकाले स्थानीय सरकारले भन्दा निर्माण व्यवसायीले अटेर गर्ने गरेका छन् । स्थानीयवासी र पैदलयात्रीले भने कुन सरकारको आयोजना हो भन्ने नबुझी स्थानीय सरकारलाई गाली गर्ने गरेको नगरपालिका–४ का अध्यक्ष जयराम महतले बताए ।

विसं २०७६ चैतमा सुरु भएको बन्दाबन्दीका क्रममा सडकमा पर्ने रुख हटाए पनि कतिपय स्थानमा विद्युत्को पोल, तार लगायत संरचना अझै हटेको छैन । निर्माणको ठेक्का पाएको सिएम कन्स्ट्रक्सनले काममा ढिलासुस्ती गरेको देखिएको स्थानीयवासी हरिबहादुर श्रेष्ठको भनाइ छ ।

गोकर्णेश्वर महादेव मन्दिरअघिको सडकमा कालोपत्र भएको केही दिनमै भत्कियो । केही महिनापछि त्यो भत्किएको स्थानमा टालिए पनि काम राम्रो भएको थिएन । वर्षा लागेसँगै यहाँ पनि सडक भत्कन थालेको छ । कति ठाउँमा बीचमा कालोपत्र गरिए पनि दायाँबायाँ भने पर्खाल लगाएर सडक यत्तिकै छोडिएको छ ।