गृहपृष्ठ नेपालको ब्यापार घाटा साढे १४ खर्बमाथि, अघिल्लो वर्षको तुलनामा ३ खर्ब कम

नेपालको ब्यापार घाटा साढे १४ खर्बमाथि, अघिल्लो वर्षको तुलनामा ३ खर्ब कम

नेपालको ब्यापार घाटा साढे १४ खर्बमाथि, अघिल्लो वर्षको तुलनामा ३ खर्ब कम

गत आर्थिक वर्ष २०७९÷८० मा नेपालको ब्यापार घाटा १४ खर्ब ५४ अर्ब ६६ करोड पुगेको छ । यो  आर्थिक वर्ष नेपालले विश्वभरका १६५ देशबाट १६ खर्ब ११ अर्ब ७३ करोडको वस्तु आयात गरेको छ । यो अघिल्लो साल १९ खर्ब २० अर्ब ४५ करोड हाराहारी पुगेको थियो ।

त्यस्तै संसारका १२९ देशमा गत आवमा नेपालले १ खर्ब ५७ अर्ब १४ करोडको निर्यात गरेको छ । यो अघिल्लो साल २ खर्बभन्दा बढीको निर्यात भएको थियो ।

अघिल्लो साल १७ खर्ब २० अर्बभन्दा धेरै ब्यापार घाटा व्यहोरेको नेपालले गत आवमा १८ खर्बभन्दा धेरै ब्यापार घाटा हुनसक्ने प्रारम्भिक अनुमान थियो । तर, आयात प्रतिबन्ध र त्यसपछि पनि निरन्तरको तरलता संकटले अन्तरराष्ट्रिय ब्यापारमा संकुचन आयो ।

यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा नेपालको बैदेशिक ब्यापार २१ खर्ब २० अर्ब ४८ करोड पुगे पनि गत साल १७ खर्ब ६८ अर्ब ८७ करोडमा रोकियो । यसरी साढे १६ प्रतिशतले अन्तरराष्ट्रिय ब्यापार घटेको भन्सार विभागले जनाएको छ ।

आयात १६ प्रतिशत र निर्यात साढे २१ प्रतिशतले घटेको तथ्यांक विभागले सार्वजनिक गरेको छ । अहिले नेपालले १ हजार रुपैयाँको आयात गर्दा ९७ रुपैयाँको निर्यात गरिरहेको छ ।

ब्यापार सन्तुलनको हिसाबले डेनमार्कसँग नेपाललाई सबैधन्दा धेरै ब्यापार नाफा छ । अमेरिका, नर्वे, अल्जेरिया, कम्बोडिया, नाइजर, उरुग्वे, चाड, अफगानिस्तान र लात्भियासँग नेपालाई अधिकतर ब्यापार नाफा छ ।

विशाल ब्यापार साझेदारी भएका कारण सबैभन्दा ठूलो ब्यापार घाटा भारतसँगै छ । त्यसपछि चीन, इन्डोनेसिया, संयुक्त अरब, अर्जेन्टिना, मलेसिया, युक्रेन, अस्ट्रेलिया, कतार र थाइल्याण्डसँग नेपालले बढ्ता ब्यापार घाटा व्यहोरिरहनु परेको छ ।

नेपालले सर्वाधिक वस्तु आयात भारत, चीन, इन्डोनेसिया, संयुक्त अरब, अर्जेन्टिना, मलेसिया, अमेरिका, अस्ट्रेलिया, युक्रेन र कतारबाट गरेको छ । सबैभन्दा ठूलो निर्यात बजारमा भने भारत, अमेरिका, जर्मनी, ब्रिटेन, टर्की, फ्रान्स, क्यानडा, चीन, अस्ट्रेलिया र जापान छन् ।

गत साल नेपालको सबैभन्दा ठूलो निर्यात पाम तेल हो । नेपालले गत आवमा ५६ करोड लिटर पाम तेल भारतलाई बेचेको छ । ३१ करोड किलो भटमासको तेल र झण्डै १ करोड किलो अलैंची भारतले नेपालबाट किनेको छ । यी तीन वस्तु नेपालको सबैभन्दा ठूलो निर्यात हुन् ।

वस्तुगत रुपमा चौंथा ठूलो निर्यात (मूल्यका हिसाबले) हो कार्पेट लगायत भूईँमा ओछ्याउने वस्तु । अमेरिकाले नेपालसँग करीब साढे २ लाख वर्ग मिटर कार्पेट ७ अर्ब १८ करोडमा किनेको छ ।

आयातमा पनि सधैंजस्तै सर्वाधिक धेरै पैसा हामीले डिजेल किन्न खर्च गरेका छौं । त्यसपछि पेट्रोल र खाना पकाउने ग्यास किन्न धेरै पैसा खर्च भएको छ ।

कच्चा फलाम र औषधी तथा प्याकेजिङ सामान किन्न पनि ठूलो पैसा खर्च भएको छ । यी सबैचिज हामीले भारतबाट ल्याएका छौं । त्योभन्दा पछाडी इन्डोनेसियाबाट किनेको पाम र अर्जेन्टिनाबाट ल्याएको भटमासको कच्चा तेलमा नेपालले बढी पैसा खर्च गरेको छ ।

नेपालमा आयात प्रतिबन्ध र खर्चयोग्य आम्दानीको क्षयिकरणले मात्र होइन, ठूलो संख्यामा नेपाली युवा विदेशिनुले पनि अन्तरराष्ट्रिय ब्यापारमा संकुचन आएको छ ।

प्रकाशित समय : ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु