निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क साढे ४० अर्बमाथि
वि.सं.२०८० साउन ९ मंगलवार १८:३४
shares

चालु आर्थिक वर्षको असारसम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे ४० अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३.५९ प्रतिशतले मात्रै धेरै हो । गत आर्थिक वर्षको असारसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको असारसम्ममा सबैभन्दा धेरै ५ अर्ब ५२ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १३.६१ प्रतिशत हो ।
कुल बीमाशुल्क आर्जनमा शिखरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यस अवधिमा सगरमाथा लुम्बिनीले ४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ११.२२ प्रतिशत हो ।
यस अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ४२ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सिलयले ३ अर्ब ३९ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड रुपैयाँ, नेकोले २ अर्ब ९२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले २ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ४ अर्ब ५१ करोड ६६ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमा शुल्कको ११.१३ प्रतिशत हो ।
सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको २.५१ प्रतिशत मात्रै हुन आउँछ ।
प्रभु इन्स्योरेन्सले व्यवसाय बढाउनेमा आफुलाई शीर्ष स्थानमा राख्न सफल भएको छ । कम्पनीले यस अवधिमा सबैभन्दा धेरै २२.२० प्रतिशतले बीमाशुल्क बढाउदै १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ पुर्याएको हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।
प्रभुपछि सानिमा जिआईसीको बीमाशुल्क १९.४८ प्रतिशतले बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यस्तै नेशनल इन्स्योरेन्सको १२.३२ प्रतिशत, शिखरको १०.२४ प्रतिशत, आइजीआई प्रडेन्सियलको ९.१४ प्रतिशत र युनाइटेड अजोडको ६.५३ प्रतिशतले बीमा शुल्क बढेको छ ।
सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । नेपाल इन्स्योरेन्सको बीमाशुल्क ०.३७ प्रशितले मात्रै बढेर १ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यही अवधिमा नेकोले १ अर्ब ५८ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो ।

























