साढे दुई अर्बको सुन तस्करी गराउने गिरोह कसरी समातियो ?
वि.सं.२०८० असार २६ मंगलवार ०६:२३
shares
वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमार्फत साढे दुई अर्ब बराबरको सुन तस्करी गर्ने गिरोहका १२ जनालाई प्रहरीले एकसाथ पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका लागि गएका नेपालीलाई प्रयोग गरेर सुन तस्करी गराएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका–५ का ३४ वर्षीय नरेश पंजियार, सिराहा पर्टेवा नगरपालिका–१७ का २४ वर्षीय दिनेशकुमार यादव, बाँके राप्ती सोनारी गाउँपालिका–४ का ३६ वर्षीय भुमबहादुर वली, धनुषा मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय सुनिल कुमार महरा, कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ का २३ वर्षीय सन्त गुलाम मुराव, सप्तरी बलान बिहुल गाउँपालिका–२ घरभई काठमाडौं–९ सिनामङ्गल बस्ने २८ वर्षीय विनोद कुमार साह र उनकी श्रीमती २५ वर्षीया सञ्जु कुमारी साह छन् ।
त्यस्तै, सप्तरी बोदेबर्साइन नगरपालिका–१ घरभई सिनामंगल बस्ने २७ वर्षीय देवनन्दन साह, सप्तरी बलान बिहुल गाउँपालिका–६ घरभई मध्यपुर थिमि बस्ने २२ वर्षीय दुर्गा प्रसाद यादव, सर्लाही हरीपुर नगरपालिका–३ घरभई काठमाडौं–२८ बागबजार बस्ने ५६ वर्षीय निमाई साह, सिराहा लहान नगरपालिका–४ का शिव सुन्दर राउत र मोहन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
गैरकानुनी रूपमा भन्सार छली गरी कतारबाट सुन चोरी पैठारी गरी नेपाल ल्याई खरिदबिक्री गरिरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये सञ्जुले दिएको बयानमा कतारबाट भन्सार छली ल्याएको सुन काठमाडौं बागबजारस्थित निमाई साहले सञ्चालन गरेको सुर्पना ज्वेलर्समा बिक्री गर्ने गरेको खुलेको र उक्त ज्वेलर्सका सञ्चालक निमाई साहलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसरी तस्करी गरिएको सुनबाट विभिन्न बैंक खाताहरूमा १४ करोड ३९ लाख ७१ हजार ७० रुपैयाँ रकम पठाएको देखिएको छ ।

























