nmb bank

गृहपृष्ठ ‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

‘डायलासिस’ उपकरण व्यवस्था मिलाउन माग

तनहुँको आँबुखैरेनी अस्पतालमा ‘डायलासिस’ उपकरण व्यवस्थाका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । आँबुखैरेनी गाउँपालिका–३ का वडाध्यक्ष दिनेश केसीले आइतबार कांग्रेस सभापति देउवालाई भेट गरि उक्त माग गरेका हुन ।

वडाध्यक्ष केसीले अस्पतालमा रक्त सञ्चारका लागि पनि आवश्यक उपकरणको व्यवस्था मिलाउन पहल गरिदिन सभापति देउवालाई आग्रह गरेका थिए । सभापति देउवाले अस्पतालका लागि डायलासिस उपकरण व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गर्ने जानकारी दिएका थिए ।

ऑबुखैरेनी गाउँपालिकाले आगामी आव २०८०÷८१ मा अस्पतालमै डायलासिस सेवा सुरु गर्ने जनाएको छ । यसका लागि गाउँपालिकाले नीति तथा कार्यक्रममै यसलाई उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौला पीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलासिस सेन्टर स्थापना गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउछन् ।

उनले भने, “यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलासिस गर्नुपर्ने बाध्यता छ । तैपनि भनेको बेला समय नपाउँदा उहाँहरूलाई निकै दुःख भइरहेको छ । त्यस्तो अवस्थाका अन्त्यका लागि आगामी आर्थिक वर्ष आँबुखैरेनीमा नै यो सेवा दिनेछौँ ।”

हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलासिस उपकरण सञ्चालनमा छ । मिर्गौला पीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ । दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ ।

उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई नयाँ उपकरण पठाएको छ । प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई उपकरण आइपुगे पनि जडान हुन बाँकी रहेको छ ।

चारवटा उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन् । तर अझै ३० मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिंदै छन् ।

गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने पालिका अध्यक्ष चुमानले बताए । “ठूला शल्यक्रिया गर्नुपरेमा महिना एक पटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमितरूपमा अस्पतालमै हुनेछ ।” चुमानले भने ।

गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ । अध्यक्ष चुमानले महिलाको प्रजनन् स्वास्थ्य, पाठेघर क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित समय : ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु