गृहपृष्ठ दुग्ध उत्पादन र पशुपालनमा ६९ आयोजना
दुग्ध उत्पादन र पशुपालनमा ६९ आयोजना
नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोेजनाअन्तर्गत हेटौँडा कार्यालयबाट सात जिल्लामा ६९ आयोजना सम्पन्न भएका छन् ।
कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोेजनाबाट कार्यक्रम सञ्चालनका लागि हेटौँडामा विकेन्द्रिकृत सहयोग इकाइ स्थापना गरिएको छ । यसअन्तर्गत सप्तरी, धनुषा, सिराहा, काभ्रेपलाञ्चोक, काठमाडौँ, मकवानपुर र चितवनमा कार्यक्रम सञ्चालन गरिएको छ ।
सात जिल्लामा कूल ५६ करोड रुपैयाँको लागतमा दुग्ध उत्पादन, विविधिकरण तथा पशुपालन क्षेत्रको विकास, संरक्षण तथा पूर्वाधार निर्माणमा ६९ उप–आयोजना सम्पन्न भएको कार्यालयको भनाइ छ ।
विश्व बैंकको सहुलियतपूर्ण ऋणअन्तर्गत सञ्चालित कार्यक्रम आर्थिक वर्ष २०७५÷७६ देखि सुरु गरिएको थियो । यसमा ११८ वटा उप–आयोजना सञ्चालनको लक्ष्य लिइएको थियो ।
सम्पन्न भएका आयोजनाहरुमा ४६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ भने १० करोड रुपैयाँ भुक्तानीको प्रक्रियामा रहेको छ । आयोजना स्थापनाको सुरुमा सहकारी सस्थासँग मात्र सम्झौता गर्ने भनिए पनि पछिल्लो समय निजी तथा व्यावसायिक फार्मले पनि आयोजना सञ्चालनका लागि आवेदन दिएपछि ३९ वटा उपआयोजना थप गरिएको हो ।
हाल ६९ सहकारी र ३९ निजी व्यावसायिक फार्म गरी १०८ वटा उप–आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ । जसमध्ये दुग्ध उत्पादन, प्रशोधन, दुग्ध विविधीकरणको उपकरण निर्माण, दुग्ध भवन निर्माण, पशुपालन, गोठ सुधार तथा भवन निर्माण, खसी तथा बाख्रापालन र त्यसको पूर्वाधार निर्माण, खसी बोका खरिद बजार भवन निर्माण गरिएको छ ।
साथै पशु स्वास्थ्य उपचार शाखा भवन निर्माणलगायत अनुगमन निरीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन, घाँस उत्पादन, कृषि सहकारी संस्थाको पहिचान, अनुदान वितरण, प्रोत्साहन, तालिम र बजारीकरण लगायतका कार्यक्रमसमेत गरिएको कार्यालयको भनाइ छ ।
इकाइ कार्यालय हेटौँडाको सहयोग तथा लगानीमा रहेका ६९ वटा उप–आयोजनामध्ये १४ वटा सहकारी संस्था अहिले उद्योगमा परिणत भइसकेका छन् ।
पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाको ललितपुरमा मुख्य कार्यालय छ भने बुटवल, पोखरा, हेटाँैडा, विराटनगरमा आयोजना इकाइ छन् । चारवटा इकाई कार्यालयअन्तर्गत २८ जिल्लामा पाँच सय ५५ वटा उप–आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालयका कृषि अर्थविद् सुशील खड्काको भनाइ छ । आयोजना अन्तर्गतका बाँकी काम यही असारभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।
प्रकाशित समय : १७:३० बजे




















