बैंकिङ्ग प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक
वि.सं.२०८० असार ८ शुक्रवार १७:१२
shares

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार फेरि बजारबाट तरलता खिच्ने भएको छ । केन्द्रिय बैंकले आइतबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपैयाँ तान्न लागेको हो।
केन्द्रिय बैंकले बिहीबारमात्रै सात दिनको लागि १० अर्ब रुपैयाँ खिचेको थियो। १० अर्ब खिच्न खोज्दा बैंकहरुले भने २६ अर्बको लागि आवेदन दिएका थिए । १० अर्ब खिच्दासमेत अधिक तरलता रहेको भन्दै केन्द्रिय बैंकले पुन २० अर्ब रुपैयाँ खिच्न लागेको हो । अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ तर कर्जा लगानी बढ्न सकेको छैन ।
कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ। अहिले एक बैंकले अर्को बैंकसँग लिन सापटी अर्थात अन्तरबैंक सापटीको ब्याजदर ४ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा राखेको भए पनि अन्तरबैंक निकै तल झरेको छ।
नेपाल राष्ट्र बैंकले अन्तरबैंक र दर नीतिगत दरभन्दा २ प्रतिशत तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने जनाएको छ। केन्द्रिय बेंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै उक्त कुरा उल्लेख गरेको छ। सोहि अनुसार केन्द्रिय बैंकले बिहीबार बजारबाट तरलता तान्न लागेको हो। केन्द्रिय बैंकले ७ दिनको लागि उक्त रकम बैंकिङ्ग प्रणालीबाट खिच्न लागेको हो।

























