global ime bank Long Banner Ad

गृहपृष्ठ उमेरहदमाथि ओलीको ‘हत्या प्रयास’

उमेरहदमाथि ओलीको ‘हत्या प्रयास’

उमेरहदमाथि ओलीको ‘हत्या प्रयास’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले ७१ बर्षमा हिडिरहेका छन् । ७० पुग्नै लाग्दा २०७८ को मंसिरमा सम्पन्न दशौं महाधिवेशनबाट दोस्रोपटक अध्यक्ष निर्वाचित भएका उनी आगामी फागुन ११ मा ७२ बर्षको पुग्नेछन् । सरसर्ती हेर्दा ओली एमालेको अध्यक्ष अबको तीनबर्ष सम्मका लागि मात्रै हुन् । तीनबर्षपछि उनी ७५ बर्षमाथिको हुनेछन् । २०८३ पछि हुने एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्ने हो । तर ओली नै भोलि हुने गरि एमालेको ‘हाइकमान्ड’ सचिवालय बैठकले ७० बर्षे उमेरहद नै निलम्बन गरेको छ । यसले एमालेभित्र एकखाले तरंग ल्याएको छ । किनकि नेतृत्व विकास र हस्तान्तरणमा यो सबैभन्दा ठूलो धक्का हो ।

हुनत् निलम्बन केही समयका लागि मात्रै हुन्छ । तर एमालेभित्र केन्द्रीय समिति हुँदै महाधिवेशनबाट पारित गराउने तयारी शीर्ष नेतृत्वको छ । किनकि पार्टीको सचिवालयमै अधिकांश ७० कटेका र पुग्दै गरेका नेता छन् । स्थायी कमिटीमा अधिकांश ७० माथिका र ६० माथिका छन् । १८ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका ईश्वर पोखरेल ६९ बर्षको भए । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ७१ बर्षको भए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ७० बर्षको भए । रामबहादुर थापा बादल ६८ बर्षको भए । सबैभन्दा वृद्ध नेता अमृत बोहरा ७५ बर्षको भए । केशव बडाल ७४ र सत्यनारायण मण्डल ७२ बर्षको भए । भर्खरै नेकपा एकीकृत समाजवादी छोडेर एमालेमै फर्किएका मुकुन्द न्यौपाने ७३ बर्षका भए । उनैलाई केन्द्रीय कमिटीमा मनोनीत गर्नका लागि उमेरहद हटेको दाबी एमाले नेताहरु गरिरहेका छन् । तर ‘सम्धीको निउमा आफुलाई घ्यू’ भनेजस्तो ७० बर्ष पार गरेका सबैलाई राहत हुनेगरि १५ बर्षदेखि लागु यो प्रावधान अहिले हटेको छ ।

जबकि प्रावधान कायमै रहेको भए उनीहरु सबै आगामी महाधिवेशनपछि बिदा हुने थिए । एकैलटमा ओली, मुकुन्द न्यौपाने, अमृत बोहरा, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, केशव वडाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा र युवराज ज्ञवाली आउट हुने थिए । त्यसपछि ११ औं महाधिवेशनबाट बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, रघुजी पन्त, शंकर पोखरेल, प्रदीप ज्ञवाली, छविलाल बिश्वकर्मा, सुरेन्द्र पाण्डे र बिष्णु रिमाल नेतृत्वमा आउने थिए । त्यसपछिको पालो योगेश भट्टराई, गोकर्ण विष्ट र महेश बर्ताैलाहरुको थियो । तर तेस्रो पुस्तासम्मको पालो ओलीले मिचिदिएका छन् । त्यतिबेला अर्काे पार्टीमा गगन–विश्वप्रकाशहरु नेतृत्वमा पुगिसकेका हुनेछन् । नयाँ उदाएका रविहरुको माहोल थामिनसक्नुको हुनेछ । तर एमाले उही बुढाहरुको हातमा हुनेछ ।

यसले गर्दा एमालेबाट छुट्टीएका ‘वृद्ध बा’हरु भने जाग्न थालेका छन् । ओलीको निर्णयले सबैभन्दा बढ्ता हौसिएका बामदेव गौतम एमालेमा फर्किहाल्ने तयारीमा छन् । एमालेमा जुनसुकै जिम्मेवारी दिएपनि अध्यक्षले बोलाए गइहाल्ने तयारी उनको छ । भलै पण्डितको जिम्मेवारी पाएपनि अब एमालेमा जान कसैले रोक्न नसक्ने बामदेवको बोली छ । ‘अब रोकिने कुरा छैन ।’, मंगलबार राष्ट्रिय सभाको बैठकबाट निस्किँदै नेता गौतमले भनेका थिए, ‘जिम्मेवारी दिनु पर्‍यो, त्यो पण्डितले जजमान गरेको जस्तो भएपनि हुन्छ ।’

तर बामदेव गौतम ‘आफै हात पसारी’ एमाले अध्यक्ष ओलीको दैलोमा पुग्न थोरै हिचकिचाई रहेका छन् । कमसेकम एकपटक भएपनि ओलीको फोन आए, वा ओली भेट्न आए सम्झौता नगर्ने पक्षमा गौतम छन् । यसर्थ यसको सन्देश उनी एमाले नेताहरुमार्फत पठाइरहेका छन् । एमाले नेताहरु पनि यही मौकामा गोल गर्न बामदेवलाई उक्साइरहेका छन् ।

एकतासहित बनेको नेकपा भंग भएर एमाले–माओवादी पूर्ववत् अवस्थामा फर्किएपछि बामदेव गौतम भूमिकाहिन छन् । न एमाले, न माओवादी । बामदेव बीचमा छन् । पछिल्लोसमय माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जान तम्सिएपनि उनी पछि हटेका थिए । बीचमा नेकपा एकता अभियान चलाएर त्यसको नेता पनि बने । तर माखो नमरेपछि थन्किएरै बसेका उनी एमाले अध्यक्ष ओलीले उमेरहद हटाएपछि फर्किन हतारिएका छन् । एमाले अध्यक्ष ओली पनि ‘खोज्दै आए किन आइस्’ भन्ने पक्षमा छैनन् ।

नेकपा भएकै बेला पनि उमेरहद राखिएपछि गौतमले चित्त दुखाएका थिए । पछि वृद्ध नेताहरुकै स्वार्थमा उमेहद निष्क्रिय बन्यो । नेकपा भंग भएर एमाले ब्यूँतिएसँगै उमेरहद कायमै रहेपछि गौतमलाई जोश चलेको थिएन । उनको जोश बढाउन मनोनीतमार्फत राष्ट्रिय सभामा घुसाइयो । तर राष्ट्रिय सभामा पुगेर उनले संविधान संसोधनको माग राखे । राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्न नपाउने व्यवस्था हटाउन संसोधन गर्न माग गरेका उनी ओली–प्रचण्ड मिलाएर प्रधानमन्त्री बनिहाल्ने दाउमा थिए । तर त्यहीबेला नेकपा भंग भएपछि बामदेवको सपना चक्नाचुर भयो । त्यसयता अहिले ओलीले आफ्नै स्वार्थमा उमेरहदमाथि नै कैची चलाएपछि दिन फिरेको अर्थमा हौसिएका छन् ।

उमेरहद संसोधनले बुढाहरुमा खुशीयाली छाएका बेला नेतृत्वको तयारी गरिरहेका नेताहरुलाई भने अवरोध पुर्‍याएको छ । तैपनि मुटुमाथि ढुंगाराखी ओलीको बोली स्वीकार्न विकल्प उनीहरुका अघि छैन । किनकि, अध्यक्षका अघि विद्रोह गर्ने वा फरक मत राख्ने ताकत पनि उनीहरुसँग छैन ।

‘रावण मर्दैमा लंका खाली हुँदैन ।’ तर ओली नभए एमाले खाली हुन्छ । सायद यही भएर होला विधानमा भएको उमेरहदकै हत्या प्रयास हुँदा पनि उनी चुप बसेका छन् । फलतः एमाले जस्तो लाखौंले आस्था राख्ने पार्टी अध्यक्षको प्राइभेट कम्पनी बनेको आरोप विगतदेखि नै छ । ‘जसको तरबार उसकै मात्र घरबार ।’ आफ्नै स्वार्थका लागि ७० बर्षे उमेरहदलाई ओलीले निलम्बनको डण्डा चलाएका हुन् ।

हुनत् ओली राम होइनन् । यो रामराज्य पनि होइन । वाण हान्न धनुष र रावण दुवै छैनन् । तर, प्रशस्त हनुमान छन् । त्यही भएर बोल्दैनन् । भजन किर्तनमात्रै गर्छन । अप्ठेरो परेको बेला ‘कि हस्तिनापुरको राज, कि चपरीमुनिको बास’ हुने खालको निर्णय गर्छन् । अहिले ७१ मा हिडिरहेका ओली अर्काे महाधिवेशनपछि चुप लागेर बस्नुपर्ने थियो । तर विधानकै बुँदा गायब हानिदिएपछि टन्टैसाफ ।

एमालेभित्रको युवा पुस्ताले मतको संकेत बुझ्न सक्नुपथ्र्याे । किनकि ईश्वर–शंकर पोखरेलले हार्दा महेश बर्ताैलाले जित्नु परिवर्तन चाहेको संकेत थियो । तर जितेर आएका महेशहरु पनि अध्यक्षका अघि लम्पट छन् । परिवर्तनकाे मत बोकेर आउँदा पनि हनुमानगिरी नै गर्नुपर्छ भने किन नेता बन्ने ? अहिले युवामाथि यस्ता प्रश्न उठेका छन् । अब एघारौं–१२औं महाधिवेशनबाट पनि ओली नै अध्यक्ष हुनेछन् । त्यसपछि युवा भनिएको पुस्ता चाउरीएर रिटायर्ड हुनेछ । सबै कुरा सम्झेर ल्याउँदा कम्ता हाँसो छैन।

काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रका युवालाई भनिसकेँ, ‘म अब सभापति हुने होइन क्यारे । अब तपाईँहरु जुट्नुस् ।’ सायद माओवादीका अध्यक्ष प्रचण्ड पनि अर्काे महाधिवेशनपछि नेतृत्वमा रहने छैनन् । तर पुस्तान्तरणको सबैभन्दा स्वर्णिम समयमा उभिएको एमालेमा ओली यस्तो धुन्धुकारी निस्किए, जसले नेतृत्वनै जाम गर्ने कदम चालेका छन् ।

यद्यपि, सचिवालयको निर्णयलाई विधान महाधिवेशनले ‘करेक्सन’ गर्नसक्छ । तर ओलीका विरुद्ध गएर महाधिवेशनमा उमेरहदका पक्षमा उभिन सक्ने ताकतमा नेताहरु देखिँदैनन् । उमेर हद हटाउने प्रस्ताव नै आगामी नेतृत्वका रुपमा हेरिएका उपाध्यक्ष विष्णु पौडेलले ल्याएका हुन् । सुरुमा नेताहरुले प्रस्तावमाथि हाँसो उठाएपनि ओली बोलेपछि चुप बसेका थिए । अहिले यसलाई अन्य पार्टीमा गएका नेताहरुलाई फर्काउने हतियारका रुपमा पनि नेताहरुले बचाउ गरिरहेका छन् ।

नेतृत्वमा पुस्तान्तरण हुने र नयाँ पुस्ता स्थापित हुने अपेक्षामा रहेका नेताहरु भने निराश बन्न पुगेका छन् । एमालेले विधान महाधिवेशनबाट उमेरहद हटाउने निर्णय लिए एमालेका साथै अन्य पार्टीमा पनि पुस्तान्तरणको विषय कमजोर बन्ने छ । तर यो कदमलाई एमालेमा आशालाग्दो अनुहारकै रुपमा हेरिएका नेताहरुले बचाउ गरेका छन् । आगामी महाधिवेशनबाट ओली नै अध्यक्ष भएपनि स्वीकार्न तयार रहेको नेताहरु बताउँछन् । तर तीनवटा महाधिवेशनदेखि दीर्घकालीन रुपमा सोचि सम्झी अभ्यासमा ल्याइएको ७० वर्षे उमेरहद र एउटै कार्यकारी पदमा दुई कार्यकालसम्म मात्र रहन पाउने व्यवस्था हटाउने निष्कर्षमा एमाले किन पुग्यो ? अध्यक्षको स्वार्थपूर्तिकै लागिमात्र होकि वा खास कारण केही छ ? एमाले नेता डा. राजन भट्टराई भन्छन्, ‘यो आवश्यकताका आधारमा भएको हो । भोलि आवश्यक पर्दा फेरि हटाउन सकिन्छ ।’

एमालेले ०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट नेतृत्वको विकास र अवकाशलाई स्वस्थ र मर्यादित बनाउन उमेरहदसम्बन्धी व्यवस्था विधानमै उल्लेख गरेर कार्यान्वयनमा ल्याएको थियो । विधानमै लागु नहुँदा पनि नेता भरतमोहन अधिकारी र सिद्धिलाल श्रेष्ठ उमेरहदकै कारण विदा भएका थिए । त्यसबाहेक अर्काे कुनै नेता उमेरहदले विदा भएको रेकर्ड छैन ।

एमालेबाहेक संसद्को पहिलो दल कांग्रेसले अहिलेसम्म उमेरहदको व्यवस्था गरेको छैन । तेस्रो दल माओवादीको हकमा पनि उमेरहद छैन । जहाँ अध्यक्ष प्रचण्डले ३५ बर्षदेखि नेतृत्व गरिरहेका छन् । एमाले अध्यक्ष ओली फेरि दोहोरिए त्यसको असर काँग्रेस र माओवादीमाथि समेत पर्नेछ । देउवा प्रचण्डलाई फेरि पनि नेतृत्वमा आउने सहज हुनेछ । अहिले साना–ठूला सबै पार्टीमा नेतृत्व पुस्तान्तरणमार्फत युवालाई नेतृत्वमा पु¥याउनुपर्ने मुद्दा जोडतोडले उठेको छ । नत्र त्यसको परिणाम आगामी २०८४ को निर्वाचनमा देखिने विश्लेषण भइरहेका छन् । त्यसैले एमालेभित्रको बहस यसर्थमा महत्वपूर्ण छ । किनकि कुनै न कुनै पार्टीले पुस्तान्तरणलाई सार्थक बनाएको खण्डमा सबैमा त्यसको सन्देश जानेछ ।

एमालेमा पनि सरसर्ती विधान अनुसार पार्टी अघि बढेको भए, आगामी नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल वा महासचिव शंकर पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना थियो । तर दुईकार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी विद्यादेवी भण्डारी पनि राजनीतिमा फर्किने सम्भावना बलियो छ । कतिले नेतृत्वकै रुपमा हेरेका छन् । तर भण्डारीलाई राजनीतिमा तान्नू जबरजस्ती ईश्यू बनाएको अर्थमा नेताहरु खण्डन गरिरहेका छन् ।

तथापी नाकाबन्दीबाट राष्ट्रवादी छबि बनाएका ओली कार्यकर्ताको बीचमा लोकप्रिय छन् । उनका उखान टुक्काहरुमा लठ्ठीनेहरु धेरै छन् । वक्तृत्वकला उत्कृष्ट भएकै कारण ओलीप्रति उभार छ । तर पछिल्लो समय त्यही राष्ट्रवादी छबिको नेता भ्रष्टाचारीको संरक्षक जस्तो बनेका छन् । त्यसको पटाक्षप पार्टी सचिव टोपबहादुर रायमाझीको बचाउमा जिम्मेवारीको स्तरनै विर्सिएर लागिपरेपछि ह्वात्तै धुमलिएको छ । यसले हिजो ‘आइ लभ यू केपी बा’ भन्दै सडकमा ओर्लिएकाहरुमा पनि नैराश्यता छाएको छ । अझ पुराना पार्टीहरुलाई चुनौती दिँदै युवा सहभागिताकै कारण वर्चश्व जमाएका रास्वपा जस्ता दलहरुको उदयले एमाले जस्ता पार्टीलाई चुनौती दिइरहेको छ । त्यसको ज्वलन्त उदाहरण गत बैशाखमा सम्पन्न उपनिर्वाचन हो । रास्वपा दुई ठाउँमा निर्वाचित हुँदा एमाले तीनै ठाउँमा तेस्रो बनेको थियो । त्यसअघि एमालेले दुई महिनासम्म चलाएको मिशन ग्रासरुट अभियान पनि प्रत्युत्पादक भएको थियो ।

अहिले फेरि एमालेले एकबर्षे अभियान सुरु गरेको छ । जसका लागि नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर भएको छ । तर अझै पनि एमालेमा पुर्नताजगीमाथि प्रश्न नै छ । किनकि विगतमा नेकपा जस्तो शक्तिशाली पार्टीको नेतृत्व गरेपनि प्रचण्डसँग सन्तुलन मिलाउन नसकेको आरोप पनि ओलीमाथि नै छ । एमालेभित्र पनि अहिलेदेखि नै सन्तुलन मिलाउन नसके ओलीपछिको राजनीति छिन्नभिन्न हुने सम्भावना बलियो छ । यस्तो बेला आगामी नेतृत्वको तयारी गरिरहेका नेताहरु नै विद्रोही वा असन्तुष्ट बन्ने गरि ‘उमेरहदको हत्या प्रयास’मा ओली पुगेपछि एमाले ओलीकै प्राइभेट कम्पनी भएको निष्कर्ष निकालिएको छ ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु