गृहपृष्ठ ऋण भनेको के हो ?
ऋण भनेको के हो ?
आम्दानीभन्दा खर्च बढी गर्नुपर्ने तर पहिलेदेखिको बचत नभएको अवस्थामा खर्च गर्न पैसाको अभाव हुन्छ । चाहेको काम सम्पन्न गर्न कसैसँंग रकम लिनुपर्ने हुन्छ । केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने अरूसँग लिएको रकमलाई ऋण भनिन्छ । ऋणलाई कर्जा पनि भनिन्छ ।
ऋणका स्रोतहरू के–के हुन् ?
ऋणका विभिन्न स्रोतहरू छन् । आउनुहोस् हेरौँ ।
बैंक तथा वित्तीय संस्था
बैंक तथा वित्तीय संस्था भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने ऋणको स्रोत हो । बैंक तथा वित्तीय संस्थाले घर, जग्गा, सुन वा अन्य सम्पत्ति धितो लिएर ऋण प्रदान गर्छन् । यसै गरी, लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न व्यवसायिक कार्यका लागि सामूहिक जमानीमा लघुकर्जा प्रदान गर्दछन् ।
बचत तथा ऋण सहकारी संस्था
हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत तथा ऋण सहकारी संस्थाहरूले व्यवसायिक वा निजी प्रयोजनको लागि धितो सहित वा बिना धितोको ऋण प्रदान गर्छन् ।
व्यवसायिक ऋण प्रदानकर्ता
व्यवसायिक ऋण प्रदानकर्ता संस्थाहरूले लाभ हुने व्यवसायमा लगानी स्वरूप ऋण प्रदान गर्छन् । यस प्रकारको ऋणको ब्याज, धितो र समयसिमा लगानीकर्ता र व्यवसायीबीचको सहमतिमा निर्धारण हुन्छ ।
साथीभाइ वा परिवार
साथीभाइ, परिवार वा इस्टमित्रहरू पनि आवश्यक ऋणको स्रोत हुन सक्छन् । यस प्रकारका ऋण कम खर्चिलो, सहज र बिना धितोको हुन सक्छ ।
सरकारी वित्तीय सहयोग
उर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा ऋण प्रदान गर्ने व्यवस्था समेत रहेको छ । यस प्रकारको ऋणको लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनुपर्छ ।
प्रकाशित समय : ०७:०० बजे



















