गृहपृष्ठ प्रहरी कर्मचारीहरू सेवाको गुणस्तर अभिवृद्धि गर्न कटिवद्ध हुनुपर्छ : बहादुर कुँवर
प्रहरी कर्मचारीहरू सेवाको गुणस्तर अभिवृद्धि गर्न कटिवद्ध हुनुपर्छ : बहादुर कुँवर
प्रहरी कर्मचारीहरूले आफ्नो आचरण, व्यवहार, इच्छाशक्ति तथा कामप्रतिको उत्प्रेरणामा सुधार गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी सेवाको गुणस्तर अभिवृद्धि गर्न कटिवद्ध हुनुपर्ने प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बताएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई आज नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्देशन दिँदै उक्त कुरा बताएका हुन् ।
नेपाल सरकार र प्रहरी संगठनको नीतिका साथै संगठनको आन्तरिक सुदृढिकरणलाई प्रमुख एजेण्डा मानेर अगाडि बढ्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने । ‘त्यसका लागि विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, संगठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थ भन्दा संगठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारवाही बोल्ने भन्दा पनि व्यवहारमा लागू गरी त्यसको रिजल्ट आउने गरी कार्य सम्पादन हुनुपर्छ ।’
प्रहरी महानिरीक्षक कुँवरले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजश्व संकलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कार्यालय प्रमुखहरूले आ–आफ्नो मातहत कार्यालयहरुको सुपरीवेक्षण तथा अनुगमन गर्न समेत निर्देशन दिएका छन् ।
नागरिकप्रति अपनत्व भाव राखी नागरिकस्तरबाट आएका सूचनालाई प्रोएक्टिभ रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनहाँले संगठनको छवि र साखमा वृद्धि गर्न विभिन्न किसिमको सिर्जनात्मक क्रियाकलाप संचालन गरी संगठनको लक्ष्य प्राप्तिका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उक्त अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायतका प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख एवम् प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १८:१२ बजे



















