global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अनुसन्धान अन्तिमतिर : नक्कली शरणार्थी प्रकरणमा टोपबहादुरको भूमिका अहम्

अनुसन्धान अन्तिमतिर : नक्कली शरणार्थी प्रकरणमा टोपबहादुरको भूमिका अहम्

अनुसन्धान अन्तिमतिर : नक्कली शरणार्थी प्रकरणमा टोपबहादुरको भूमिका अहम्

नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान र बयान चलिरहेको छ । तर चित्तबुझ्दो बयान कसैबाट आएको छैन । त्यसमध्ये पनि यो प्रकरणको मुख्य भूमिकामा रहेका टोपबहादुर रायमाझीको शैली अलि फरक छ ।

प्रहरी हिरासतबाट अदालतको ढोकामा पुग्दा टोपबहादुर रायमाझीको अनुहारमा छुट्टै चमक थियो । आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ११ दिन गायब भएका उनी मानौं कुनै जंग जितेर निस्केका हुन् । कुनै आत्मग्लानी, पश्चाताप वा चिन्ताको गुन्जायस नभएका टोपबहादुरले हसिँलो मुद्रामा हात हल्लाउँदा यस्तो लाग्थ्यो, गम्भीर अपराध आरोपीहरु पनि कति शन्तोकको जिन्दगी बाँचिरहेका छन् ।

टोपबहादुर तीनै पात्र हुन्, जसले नक्कली भुटानी शरणार्थी प्रकरणको गिरोहलाई सरकारको पहुँचसम्म पुर्‍याउने काम गरेका थिए । यसर्थ उनी यो प्रकरणका नाइके हुन् । गिरोहलाई गृहमन्त्रालयसम्म विस्तार गर्ने काम उनकै नेतृत्वमा भयो । जतिबेला उनी उर्जामन्त्रीको जिम्मेवारीमा थिए ।

त्यतिबेलै यसका योजनाकार झापाका केशव दुलाल र सुनसरीका सानु भण्डारीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र त्यसबापत ५० लाख रुपैयाँसम्म असुल्ने पहिलो प्रस्ताव टोपबहादुरलाई गरेका थिए । त्यसमा पनि भण्डारी झण्डै ६३ सालदेखि नै टोपबहादुरसँग समन्वय गरि काम गर्दै आएका व्यक्ति थिए । फलतः टोपबहादुरले आफ्नै छोरा सन्दीपसहितलाई मतियार बनाएर तल्लो तहमा मिलाउने काम गरे ।

मोटै रकम आउने भएपछि माथिल्लो सहजीकरणमा खटिएका टोपबहादुरले तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रभावमा पारे । राई पनि गृहभित्रको सहजीकरण आफ्नो हातमा लिँदै आफ्नै छोरा निरजलाई मतियार बनाएर सन्दीपसँगै खटाउन तयार भए ।निरज र सन्दीपले तल्लो तहबाट गिरोहसँग पैसा उठाएर बुझाउने काम गर्थे । जुनकुरा अहिले उनीहरु पक्राउ परेपछि खुल्दै गएको छ ।

तर उनीहरुको यो योजनामा एकाएक ट्वीस्ट आयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार ढाल्न प्रचण्ड–माधव सक्रिय बनेपछि संसद् विघटन हुँदै नेकपा भंग भयो । तर टोपबहादुर माउ पार्टी माओवादीमा फर्किएनन् । बादलसहित सरकारमा सहभागि माओवादीका नेताहरु एमालेमै बसे । सायद यही प्रकरणलाई टुंगोमा पुर्‍याउन पनि सरकारमै बस्नुपर्ने बाध्यता देखेपछि उनीहरु एमालेमै बसेका थिए ।यद्यपी अनेक जुगाड गर्दै चलेको ओली सरकार अदालतको परमादेशले ढल्यो ।

देउवा प्रधानमन्त्री बनेपछि गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्न बालकृष्ण खाँण आइपुगे । तर टोपबहादुर सहितको गिरोहले खाँणलाई पनि प्रभावमा पारेरै छोड्यो । २०७८ असार २९ मा गृहमन्त्री बनेपछि साउन २७ मा खाँणले टेकनारायण पाण्डेलाई गृहसचिव बनाए । उनीहरुले गिरोहकै लाभमा बनेको बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बनाएको प्रतिवेदन गायब बनाउनेदेखि फेरबदलसम्मको काम पैसाकै लोभमा गरे । जसमा आरजु राणा र मञ्जु खाँणको समेत भूमिका रहेको जानकारहरु बताउँछन् ।

जसको कसुरमा तत्कालिन गृहसचिव पाण्डे पक्राउ परेपछि उनकै बयानका आधारमा अहिले खाँण पनि पक्राउ परेका छन् । टोपबहादुर र बालकृष्ण खाँणलाई मात्रै गिरोहले झण्डै २० करोड हाराहारीमा रकम बुझाएको तथ्य विस्तारै खुल्न थालेको छ । पक्राउ परेका गिरोह सदस्य सन्देश शर्मा र पीडितबीच भएको एक अडिओ संवादमा शर्माले आफुलाई ‘दुहुनो गाई’ बनाएको बताएका छन् ।

टोपबहादुरले सत्तामा झोसेको झिल्कोले सबैलाई पोलेपछि बालकृष्ण हुँदै आरजुसम्मको नाम मुछिएको छ । तर यसको सुरुआती निर्णय प्रक्रियामा गृह प्रशासनको निर्णायक तहमा रुपमा रहेका तत्कालिन गृहमन्त्री बादल र गृहसचिव प्रेम राई अनुसन्धानमा नआएको विषय भने आश्चर्यजनक छ । तत्कालिन सरकारको नेतृत्वसमेत गरेकाले एमाले अध्यक्ष ओलीमाथि पनि प्रश्न उठ्छ । तर यसको पटाक्षेप पक्राउ परेकाले दिएको बयान र फेला परेका तथ्यबाट सार्वजनिक हुने हो । यद्यपी सबैको पोल खोलेर भीआईपीलाई अनुसन्धानको दायरामा आउन बाध्य बनाएका सानु भण्डारीले मंगलबार प्रेमकुमार राईको नाम पनि पोलेका छन् । तत्कालिन गृहसचिव र हालका अख्तियार प्रमुख रहेका राईलाई आफुले २ करोड ३० लाख गाडीको डिक्कीमा राखेर बुझाएको सानुको दाबी छ । तर अहिलेसम्म उनी अनुसन्धानमा तानिएका छैनन् ।

न त बालकृष्ण, न त टोपबहादुर । कसैले चित्तबुझ्दो बयान दिएका छैनन् । सबै प्रमाण नष्ट गरि ११ दिनपछि सार्वजनिक भएका टोपबहादुरले मात्र ‘एस र नो’मा बयान ओकलिरहेका छन् । जसले शंका गरिएकामाथि अनुसन्धान नहुनेमात्रै होइन, सरकारी वकिलको कार्यालयबाटै मुद्धा कमजोर बन्ने सम्भावना बलियो बनेको छ । फलतः शक्तिको नियन्त्रणमा रहेको अनुसन्धानबाट नाइकेहरुलाई कारबाही हुने सम्भावना टोपबहादुरको हाँसोसँगै विलय हुने सम्भावना सतहमा छ ।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु