गृहपृष्ठ गगन थापाको विरक्त स्टाटस– ‘अब त अति भयो’

गगन थापाको विरक्त स्टाटस– ‘अब त अति भयो’

गगन थापाको विरक्त स्टाटस– ‘अब त अति भयो’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र जिम्मेवारीमा पुगेपछि निरन्तर संघर्ष गर्दा पनि नेतृत्वबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि पोखेका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले पार्टीमा असन्तुष्टि पोखेका हुन् ।

उनले जिम्मेवारीमा पुगेपछि आफूलाई चित्त नबुझे पनि जिम्मेवारीको सीमाले प्रतिरोधको साटो सुधारेर जाने कोसिस गर्नुपरेको स्मरण गराएका छन् ।

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ, उनले लेखेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

बुधबार धुम्बाराही निवासको पदाधिकारी बैठकमा भने देउवा स्वतन्त्र उम्मेदवारहरुले पाइरहेको समर्थनप्रति चिन्तित देखिन्थे । पोहोर वैशाखको स्थानीय चुनावदेखि मंसिरको आम चुनाव, अनि केही साताअघिको उपचुनावका क्रममा प्राप्त नतिजाहरुबारे देउवाले आफ्नो संक्षिप्त बुझाइ बैठकमा सुनाए । कांग्रेस जगाउनुपर्ने बताए । कुनै ठोस कार्ययोजना दिएनन् । बरु सजिलो सूत्र थमाए– भ्रातृ संस्थाहरुमा रिक्त पद पूर्ति गरिहालौं । त्यसका लागि उनले दुई महामन्त्री र मुख्य सचिवलाई कार्ययोजना बनाउन लगाए ।

देउवा बोलिसक्नेबित्तिकै महामन्त्री गगन थापा पड्किए, ‘पार्टीमा सर्वेसर्वा हुनुभएको छ । सबै निर्णय एकलौटी गर्नुहुन्छ । केन्द्रीय सदस्यहरु एक्लै थप्नुभयो । भ्रातृ संगठनहरुमा सभापति पनि आफैं छान्नुभयो । अरु पदमा हामी किन ? त्यो पनि आफैं गरिहाल्नुहोस् ।’

थापाले अहिलेसम्म पार्टीलाई नीति, पद्धति बेगर हिँडाएको जिम्मेवारी देउवाले लिनुपर्ने बताए । महामन्त्रीका रुपमा कार्यकर्ताहरुले निर्वाचित गराए पनि पार्टीमा भूमिकाविहीन बनाएर के गर्न खोजेको हो भनी प्रश्न गरे ।

देउवाले नरम भाषामा थापालाई जवाफ दिन खोजे, ‘अब तपाईँ पनि नेता भइसक्नुभयो यार । के गर्ने हो प्लान गर्नुहोस् ।’

शुक्रबार बसेको अर्को बैठकमा पनि त्यसैको पुनरावृत्ति भयो ।

अघिल्लो साता र आइतबार गरी नवौं र दसौंपल्ट विस्तारित मन्त्रिपरिषद्मा पनि थापा र अर्का महामन्त्री शर्माको चाहना प्रकट हुन पाएन । देउवाले कि त आफ्ना, कि त शेखर कोइराला पक्षका मान्छेहरुलाई नै बढ्ता महत्व दिँदा आफू छायाँ परेको महामन्त्री थापाले अनुभूत गरेका छन् । उनी निकटस्थ नेताहरुले थापा पार्टीभित्र र बाहिर शृंखलाबद्ध प्रहारको शिकार हुनुपरेको बताएका छन् ।

पछिल्लो समय देउवाले शेखरलाई प्रयोग गरिरहेको, त्यसैका आधारमा पार्टीभित्र एकलौटी मच्चाइरहेको थापाको बुझाइ छ । शंका कतिसम्म बढ्दै गएको छ भने मंसिरको चुनावमा प्रत्यक्षतर्फ टिकट वितरण गर्नेदेखि आगामी पार्टी महाधिवेशनमा शेखरलाई आफ्नो समूहको तर्फबाट सभापतिको टिकट दिनेसम्मका आश्वासन देउवाले दिएपछि शेखर मत्थर बन्दै गएको थापाको बुझाइ छ ।

फलतः गगनले आइतबार साँझ विरक्त भएर सामाजिक सञ्जालमा स्टाटस लेखेका हुन्।

प्रकाशित समय : ०६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु