गृहपृष्ठ उपनिर्वाचन : मतपत्र छपाइ सकियो, ढुवानी बुधबारदेखि
उपनिर्वाचन : मतपत्र छपाइ सकियो, ढुवानी बुधबारदेखि
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।
मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं. १ र बागमती प्रदेशको चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि कुल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ पूरा भएको हो । ती मतपत्र आवश्यक सुरक्षा प्रबन्धसहित बुधबारदेखि सम्बन्धित निर्वाचन क्षेत्रका लागि ढुवानी गरिने आयोगले जनाएको छ ।
बारा क्षेत्र नं. २ मा एक लाख १६ हजार, चितवन क्षेत्र नं. २ मा एक लाख ३८ हजार र तनहुँ क्षेत्र नं. १ का लागि एक लाख ३६ हजार मतपत्र छपाइ गरिएको छ । ती क्षेत्रमा मनोनयपत्र दर्ता गर्ने उम्मेदवारका आधारमा निर्वाचन चिह्नसमेत समावेश गरी मतपत्र छपाइ भएको हो ।
उपनिर्वाचनका लागि कुल ६७ जना उम्मेवारले उम्मेदवारी दिएका छन् । आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार बारा क्षेत्र नं. २ मा ३४, तनहुँ क्षेत्र नं. १ मा नौ र चितवन क्षेत्र नं. २ मा २४ जना उम्मेदवार छन् ।
आयोगको अद्यावधिक विवरणअनुसार बारा-२ मा एक लाख पाँच हजार २४८, चितवन-२ मा एक लाख २४ हजार ६९५ र तनहुँ-१ मा एक लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् ।
प्रकाशित समय : २०:३८ बजे

















